राष्ट्रिय हितका विषयमा राष्ट्रिय एकता अनिवार्य : प्रधानमन्त्री ओली

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा गोरखा भूकम्पको १० औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्ने उल्लेख गरे।
भूकम्प लगाएत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए। उनले ७२ सालको भूकम्पपछि उद्दार कार्यमा, राहत कार्यका साथै पुर्ननिर्माणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट भएको सहयोग प्रंसशनीय रहेको जिकिर गरे।
प्रधानमन्त्री ओलीले बिनासकारी भूकम्प गएका बेला राष्ट्रिय एकता कायम भएको स्मरण गरे। उनले राष्ट्रिय र राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य रहेको जनाए।
त्यस्तै सुशासन र विकासका प्रश्नहरुमा पनि राष्ट्रिय एकता अनिवार्य हुनुुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धालाई स्वस्थ र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिए।
उनले आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए।
विसं २०७२ वैशाख १२ गते अर्थात् १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो। सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए। उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए।
त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै,
हामी जति बेला संविधान निर्माणको अन्तिम अन्तिम चरणतिर थियौँ र संविधान जारी गर्ने हाम्रो राष्ट्रको जुन साझा आकांक्षा थियो, तितो अनुभवसहित र अघिल्लो असफलताको तितो अनुभवसहित त्यही कुरा हामी दोहोरिन नदिन चाहिरहेका थियौँ र कुनै पनि हालतमा दोहोरिन नदिने हाम्रो संकल्प थियो । त्यस संविधानसभाले संविधान दिनै पर्दथ्यो, त्यो संकल्पका साथ हामी डटिरहेको बेला, जुटिरहेको बेला स्वभाविक रूपमा त्यहाँ स्वार्थ समूहहरू उत्पन्न हुनु, स्वार्थ समूहहरूले आफ्ना आफ्ना स्वार्थहरूलाई संविधान निर्माणका बखत अगाडि बढाउनु, स्वार्थहरू बाझिनु, स्वार्थहरू टकराउनु धेरै अस्वाभाविक थिएन ।
हामीले ती कुराहरूलाई समाधान गर्नु पर्ने थियो । त्यस्तो बेलामा अचानक महाभूकम्प गयो । जसले नेपालको परिस्थितिलाई अर्कै दिशामा मोड्दियो । म नेपालका राजनीतिक दलहरूको सुझबुझलाई धन्यवाद भन्न चाहन्छु, त्यसबेला पक्ष र प्रतिपक्ष नभनेर जसरी एकजुटता कायम गर्ने र यस विपत्तिको हामी सबैले सामना गर्नु पर्दछ र संविधान निर्माणको काममा पनि साथैसाथै अगाडि बढ्नु पर्दछ भन्ने एउटा राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रदर्शन भयो, त्यस कुराको म स्मरण गर्न चाहन्छु र त्यसका लागि सबै पक्षहरूलाई म धन्यवाद पनि भन्न चाहन्छु।
हाम्रो युनिटी त्यसरी नै देखिनु पर्दछ । राष्ट्रिय प्रश्नहरूमा, राष्ट्रिय हितका प्रश्नहरूमा वा यस्ता महत्त्वपूर्ण प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरूमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुपर्दछ ।
लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनु पर्दछ । आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।
Facebook Comment