सरकार बिचौलियाको संरक्षणमा लाग्यो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुँदै गएको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पुनले सरकारको १० महिनाको गतिविधि हेर्दा बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुँदै गएको बताएका हुन्।
उनले बिचौलियासँगको साँठगाँठ र विपक्षी दलसँग प्रतिशोध साध्ने बाहेकका कुनै पनि काम सरकारले गर्न नसकेको जिकिर गरे।
नियामक निकायमा भएको नियुक्ति र राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि भएका चलखेल दिनको घाम जतिकै छर्लङ्ग गरेको उनले बताए।
पुनले सरकार गठन गर्दा भनिएको संविधान संशोधन सुरु हुन नसकेको, सुशासनको धज्जी उठाउने काम भएको र सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको तर्क गरे।
वर्तमान सरकार बनेपछि जनतामा असन्तुष्टि देखिएकाले त्यसबाट फाइदा उठाउँदै प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरेको उनले बताए। उनले आन्दोलन चिकित्सक, शिक्षक लगाएतका माग पूरा गर्नका तत्परता देखाउन आग्रहसमेत गरे।
Facebook Comment