विचार

राजनीतिक स्वार्थको जाँतोमा नपिसियोस् गुणाकरको बेदाग छवि

यज्ञराज जोशी
१२ वैशाख २०८२ १६:४१

सुनलाई हार बनेर घाँटीमा सजिन आगोमा डामिनुपर्छ, हथौडाका हजार चोट सहनुपर्छ। फलामलाई कर्द बन्न आगोमै पोलिएर रातो हुनुपर्छ। हीरालाई टल्किन रेटिनुपर्छ, टुक्रिनुपर्छ। खोलालाई समुन्द्र भेट्न कोसौं माइलको यात्रा पार पर्नुपर्छ। सफलता पाउन कहाँ सजिलो छ र ? मानिसले पनि त सफलता प्राप्तिका लागि हजारौं हन्डर ठक्करको सामना गर्नुपर्छ। संघर्ष र चुनौतीका भीमकाय पहाड उक्लिँदै आफूलाई माझ्नु पर्छ र टल्किनु पर्छ। जो आफूलाई माझ्नबाट डराउँछन् ती टल्किनै सक्दैनन्। गुणाकर भट्ट त्यस्ता पात्र हुन्, जसले आफ्नो जीवनलाई संघर्षको पत्थरमा घोटेर सफलताको ताज पहिरिएका छन्। अझ भनौं दु:ख र संघर्षमा जीवन घोटेर सफलताको चाँद चुमेका छन्।

सुदूर भूमि अझै पनि अभावले ग्रस्त छ। राज्यको सौतेलो व्यवहारले थिचिएको छ। सुदूरबाट काठमाडौं पुगेर संघर्ष गर्दै सफलता प्राप्ति फलामको चिउरा चपाउनु सरह हो। गुणाकर सुदूर भूमि डोटीको शिखर नगरपालिका-१ कफल्लेकीमा जन्मिए। उनका बुबा-आमाको दैनिकी सामान्य पण्डित्याइँ र खेती किसानी नै थियो। गुणाकरको बाल्यकाल बुबा-आमासँग नै माटोमा खेलेर, अभाव ओढेर बित्यो। बुबा-आमाको भरोसाको पाखुरीमुनि भट्टले गाउँकै सामुदायिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे। त्यसपछि उच्च शिक्षा अध्ययनका लागि उनी धनगढी झरे। कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए। त्यहीँबाट उनले स्नातक तह पूरा गरे।

धनगढी झरिसकेपछि भट्टको दैनिकी खर्चिलो बन्न पुगेको थियो। घरबाट पठाएको रकमले मात्र उनले धनगढीको महंगी थेगेर अध्ययन गर्न सक्ने अवस्था थिएन। त्यसैले भट्टले धनगढीकै एक निजी विद्यालयमा अध्यापन गराउन थाले। जसले भट्टको दैनिकी थोरै भए पनि सहज तुल्याइदियो। भट्ट सामाजिक चेतले भरिपूर्ण थिए। लगनशील, योग्य र दक्ष थिए। २०५१ सालमा धनगढीमा साहित्यकारको साझा संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाज स्थापना भयो। भट्ट संस्थापक सचिव बने। उनले नै संस्थाको विधान तयार पारे। समाजको अहिले आफ्नै तीन तले भवन छ। लाखौं राशीका दर्जन बढी पुरस्कार छन्।

सुयोग्य व्यक्ति भएकै कारण भट्टको नाम मुलुकको १८औं गभर्नरका लागि चर्चामा रह्यो। बेदाग छवि र आर्थिक क्षेत्रका विविध पाटाको गहिरो ज्ञान भएकै कारण भट्टलाई गभर्नर बनाउनु पर्ने माग जनस्तरमा चर्को उठ्यो।

त्यसपछि भट्ट त्रिभुवन विश्वविद्यालयमा भर्ना भए। जहाँ उनले एमबीएमा गोल्ड मेडल हासिल गरे। भट्टमा अध्ययनको हुटहुटी त्यत्तिमै रोकिएन। उनी आर्थिक विज्ञका रुपमा आफ्नो नाम रोशन गराउन चाहन्थे। त्यसैले त उनले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका छन्। उनको विज्ञता मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, विकास अर्थशास्त्रमा केन्द्रित छ।

भट्टको हृदयमा मातृ प्रेम र देश विकास प्रतिको मोह थियो। उनको विज्ञता तथा क्षमता विश्वका जुनसुकै देशमा पनि बिक्थ्यो। तर, भट्टले त्यस्तो गरेनन्। उनले नेपाल रोजे। फलस्वरूप भट्टले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरे। २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भए। क्षमताकै कारण उनले बैंक नियमन विभाग, सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख भएर काम गर्ने सौभाग्य प्राप्त गरे। उनले लामो समय बैंकको प्रवक्ताको रूपमासमेत जिम्मेवारी सम्हालिसकेका छन्। यसअघि उनले नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनको आर्थिक सल्लाहकार भएरसमेत काम गरिसकेका छन्।

सुयोग्य व्यक्ति भएकै कारण भट्टको नाम मुलुकको १८औं गभर्नरका लागि चर्चामा रह्यो। बेदाग छवि र आर्थिक क्षेत्रका विविध पाटाको गहिरो ज्ञान भएकै कारण भट्टलाई गभर्नर बनाउनु पर्ने माग जनस्तरमा चर्को उठ्यो। उनी राजनीतिक रुपमा नेपाली कांग्रेस निकट मानिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भट्टलाई गभर्नर बनाउन चौतर्फी दवाव थियो। यही दवावबीच गत बुधबार (३ वैशाख)मा प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच भएको छलबाट भट्टलाई गभर्नर बनाउने सहमति भएको कुरा बाहिरियो। गभर्नर को बन्ला भन्ने विषयमा चर्चा भइरहेको बेला उक्त कुरा बाहिरिएको थियो।

उल्टै भट्टविरुद्ध गभर्नर नियुक्ति नगर्न माग गर्दै ५ वैशाख (शुक्रबार) नै सर्वोच्चमा रिट दर्ता भयो। जुन रिट हल्लाकै भरमा दायर गरिएको थियो। दिनहुँ पेशी तोकिँदा पनि आजसम्म टुंगो लाग्न सकेको छैन। यसले गर्दा सरकारको कतै भ‍ट्टलाई गभर्नर नियुक्त नगर्ने दूषित मानसिकता त छैन भन्ने शंकासमेत पैदा हुन थालेको छ।

गभर्नर एमालेबाट हुनुपर्ने ओलीको अडान थियो। देउवा पनि गभर्नर कांग्रेसले पाउनु पर्ने अडानबाट टसमस थिएनन्। तर, यही विषयले सत्ता सहयात्रामै धक्का पुग्ने देखेपछि ओली थोरै लचक बनेका थिए। र, कांग्रेसलाई गभर्नर दिन तयार भएका थिए। गभर्नर नियुक्तिको विषयले गठबन्धनमै समस्या आउँछ कि भन्ने भएपछि दुई नेताबीचको छलफल समस्या समाधानमा निकै सकरात्मक रहेको बालुवाटार स्रोतले नै बताएको थियो। उक्त छलफलमा गभर्नर कांग्रेसले पाउने र एआईजी बढुवामा हस्तक्षेप नगर्ने भद्र सहमति भएको बताइएको थियो। गभर्नर बन्ने हल्लाका बीच भट्टले ५ वैशाखमा (शुक्रबार) कार्यकारी निर्देशक पदबाट राजीनामा पनि बुझाए। यद्यपी, अझै उनको राजीनामा स्वीकृत भइसकेको छैन।

उल्टै भट्टविरुद्ध गभर्नर नियुक्ति नगर्न माग गर्दै ५ वैशाख (शुक्रबार) नै सर्वोच्चमा रिट दर्ता भयो। जुन रिट हल्लाकै भरमा दायर गरिएको थियो। दिनहुँ पेशी तोकिँदा पनि आजसम्म टुंगो लाग्न सकेको छैन। यसले गर्दा सरकारको कतै भ‍ट्टलाई गभर्नर नियुक्त नगर्ने दूषित मानसिकता त छैन भन्ने शंकासमेत पैदा हुन थालेको छ।

देउवाले एआईजीमा सिद्धिबिक्रम शाहलाई अगाडि सारेका थिए। गभर्नरमा सहमति जुटेसँगै देउवा एआईजीको अडानबाट पछि हटेका थिए। ४ वैशाखमा (बिहीबार) एआईजी नियुक्तिका लागि दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीको नाम सिफारिस भइसकेको छ। देउवाकै भनाइलाई आधार मान्ने हो भने पनि गभर्नरका विषयमा दुई दलबीच सहमति जुटिसकेको छ। ४ वैशाखमै (बिहीबार) बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले गभर्नरमा कुरा मिलिसकेको बताएका थिए। बैठकमा नेताहरूले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका थिए। जवाफमा देउवाले भनेका थिए, ‘एआइजीहरूको कुरा मैले हिजै गरिसकेको छु। यसमा कुरा मिलिसक्यो। मैले प्रधानमन्त्रीसँग कुरा गरिसकेँ। तपाईंहरूले भनेजस्तै हुन्छ होला।’

७ वैशाखमा (आइतबार) उपचारका लागि भन्दै सपरिवार थाइल्यान्ड बैंकक प्रस्थान गरेका देउवा आजमात्र फर्किएका छन् । तर, यता गभर्नरको विषय टुंगिसक्नु पर्नेमा थप पेचिलो बन्दै गएको छ। इमानदार छवि बनाएका भट्ट आफ्नो दैनिकी र राष्ट्र सेवामा खटिएकै थिए। त्यस्तो योग्य व्यक्तिलाई राजीनामा गर्न लगाएर नेताहरूले स्वार्थको रोटी सेक्न थालेको शंका पैदा हुन थालेको छ। यदि त्यस्तो भएमा असल व्यक्तिको मनोबल खस्किने र सरकारप्रतिको जनताको विश्वासमा थप क्षयीकरण हुने छ। यसमा राजनीतिक दलहरू सचेत बनुन्। भट्टको बेदाग छविलाई धुमिल्याउँदै स्वार्थको राजनीतिक जाँतोमा पिस्ने दुष्प्रयास नहोस्।




प्रतिक्रिया

One thought on “राजनीतिक स्वार्थको जाँतोमा नपिसियोस् गुणाकरको बेदाग छवि

  1. Gold, diamond and revere are wonderful things already
    They don’t need to be altered for beauty
    Therefore your examples are not very powerful to me
    Just feedback
    Ty

Leave a Reply

Your email address will not be published. Required fields are marked *