सरकारलाई डा. महतोको सुझाव : बजेट ल्याउँदा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस्

डिसी नेपाल
१२ वैशाख २०८२ १७:३५

काठमाडौं। जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले लोकतन्त्र प्राप्त भएको झण्डै दुई दशक व्यतित हुँदापनि जनताले आधारभूत सुविधा पाउन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मुलुकमा लोकतन्त्र प्राप्त भएको १९ वर्ष बितिसक्यो, तर जनताले आधारभूत सुविधा पाउन नसक्दा लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन् । राज्यको सेवा प्रवाहमा सहजता नहुँदा जनताले सास्ती भोग्नु परेको छ । दलहरु सत्ता र शक्तिको संघर्षमा लाग्दा नागरिक संवैधानिक अधिकारबाट समेत बञ्चित हुनुपरेको छ । राजनीतिक अस्थिरता, सरकारी निकायबीचको समन्वय अभाव हुँदा जनता आफ्नो अधिकार उपयोग गर्नबाट बञ्चित छन् ।’

डा. महतोले आजबाट सुरु भएको संघीय संसद्को बर्खे अधिवेशन कामयावी बन्नुपर्ने र सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरु बजेट निर्माणमा रचनात्मक रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हामीले यो अधिवेशनमा अतिआवश्यक कानुनहरू बनाउनुपर्नेछ । शिक्षकहरु आज २४ दिनदेखि आन्दोलनरत छन् । लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा पारिएको छ । नयाँ शैक्षिक शत्र सुरु भैसकेको छ, तर शिक्षकहरु सडकमा उत्रिनुपरेको विडम्बनापूर्ण अवस्थामा हामी छौं । यो अधिवेशनमा ऐन निर्माणलाई पनि उच्च प्राथमिकतामा राखिनुपर्ने कुरा शिक्षकहरुको आन्दोलनले पनि प्रतिविम्बित गरिसकेको छ । निजामती कर्मचारीहरु आन्दोलनमा आउन वार्म–अप गरिरहेको खबर छन् । यसप्रति सरकार संवेदनशील बनोस । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू मागप्रति पनि सरकार गम्भीर बन्नुपर्छ । संघीय शिक्षा र निजामती सेवासम्बन्धी विद्येयक छिटो पारित गराउनुपर्छ । यससँगै संघीय सदनमा सरकारी र गैरसरकारी गरी विचाराधिन ३२ वटा विधेयक छिटो टुँगो लगाउन सकियोस भन्ने अपेक्षा राखेको छु ।’

महतोले सरकार बजेट विकासमुखी बनाउन सरकारलाई सुझाव दिएका छन् । उनले भने,‘लोकप्रियभन्दापनि व्यवहारिक बजेट आउनु आजको आवश्यकत्ता हो । नेपालमा बजेट कहिल्यैपनि नराम्रो आएकै छैन्, तर कार्यान्वयन पक्ष निराशजनक छ । पुँजीगत खर्चको दायित्व बढाउनुपर्छ । आजसम्मको व्यवहारले के पुष्टि गरेको छ भने अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ । पुँजीगत खर्च सबै मन्त्रालयको दायित्व बन्नुपर्छ । बजेट उत्पानमुखी हुनुपर्छ ।’

बजेट कार्यान्वयनको सवालमा सरकारले नियामक निकायलाई प्रतिस्पर्धी बनाउनपर्ने महतोको सुझाव छ । उनले बजेटमार्फत करको दर नभई दायरा बढाउनेतर्फ ध्यान दिनपनि भनेका छन् । उनले भने,‘अहिलेसम्म बजेट वितरणमुखी बन्दै आएको छ, यसपटक त्यो गल्ती नदोहोरियोस । बैंक तथा वित्तिय संस्थाको व्यवसायलाई पनि सहायता हुनेगरि विकास खर्च गर्नेखालको बजेट आउनुपर्छ । नेपालको अर्थतन्त्र यसैपनि अहिले संकुचित छ, यसलाई चलायमान बनाउन सक्नुपर्छ । सरकारले पुँजीगत खर्च बढाउने योजना तर्जुमा गरोस । स्रोत सुनिश्चितता नगरी बजेट ल्याउँदा समस्या उत्पन्न भैराखेको छ । आर्थिक संकुचनको अवस्थालाई ध्यानमा राखी बजेट आउँदा नै प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने विश्वास व्यक्त गर्न चाहन्छु । मुलुकमा बेरोजगारी बढ्दो छ, युवा पलायन रोकिएको छैन् ।’

महतोले यसवर्ष बजेटले रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताए । कृषिमा आधारित ठूलो जनशक्तिलाई लाभ हुनेगरि बजेट ल्याउन र शक्तिको आधारमा बजेटको दुरूपयोग नहोस भन्ने पनि महतोको आग्रह छ । उनले भने,‘‘जसको हात, उसैको जगन्नाथ’ नहोस । राजश्व संकलनको लक्ष्य भेटाउन सकिएको छैन् । त्यसतर्फ सरकारले ध्यान दिओस ।’

उनले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि पनि सरकारले नीतिगत हस्तक्षेप बढाउनुपर्ने सुझाव दिएका छन् । साथै, पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनलाई महत्व दिनपनि उनको आग्रह छ । उनले भने,‘वर्तमान विश्व अर्थतन्त्रमा देखिएको अनिश्चिततामाझ विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । सन् २०२४ को अन्त्यतिर देशभर आएको भीषण बाढीपहिरोलगायतका प्रकोपले पूर्वाधारमा क्षति पु¥याएकोले वृद्धिमा दबाब परेको वल्र्ड बैंकको प्रक्षेपणमा उल्लेख छ । सन् २०२६ मा भने वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि नीतिगत हस्तक्षेप बढाउनैपर्छ । हालै अर्थविद् रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । त्यसप्रति पनि सरकारको ध्यान जाओस ।’

सो क्रममा उनले भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको पनि निन्दा गरेका छन् । ‘भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमलामा परी ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’–उनले भने,‘म त्यस आतंकवादी हमलामा परी ज्यान गुमाएका ती सबै निर्दोष नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घट्नाप्रति गहिरो दुःख व्यक्त गर्दछु । निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता आतंकवादी क्रियाकलाप अत्यन्तै निन्दनीय छन् । नेपाल र नेपाली जनता आतंकवादविरुद्ध भारत सरकार र भारतीय जनताको साथमा रहेको जानकारी गराउन चाहन्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *