सन्दर्भ : मातातिर्थ औंशी
कविता : यसो गर्नु

आमा हुनेहरुले आमालाई हेर्नु
आमा नहुनेले माटोलाई हेर्नु
माटोलाई हेर्दा बोट विरुवा देख्नु
बोट विरुवा हेर्दा अनाज देख्नु
अनाज हेर्दा पहिलो गाँस देख्नु
पहिलो गाँस देख्दा आमालाई देख्नु
आमा हुनेहरुले आमालाई हेर्नु
आमा नहुनेले किताबलाई हेर्नु
किताब हेर्दा अक्षरलाई देख्नूु
अक्षर हेर्दा शिक्षालाई देख्नु
शिक्षालाई हेर्दा शिक्षिका देख्नु
शिक्षिका देख्दा आमालाई देख्नु
आमा हुनेहरुले आमालाई हेर्नु
आमा नहुनेले जूनलाई हेर्नु
जूनलाई हेर्दा उज्यालो देख्नु
उज्यालो हेर्दा जस्केलो देख्नु
जस्केलो हेर्दा गाग्री बोकेर
भित्र छिरेको छायाँलाई देख्नु
त्यो छायाँ देख्दा तिम्रै छेउमा
मुस्कुराइरहेकी आमालाई देख्नु।
प्रतिक्रिया
Facebook Comment