इरान-अमेरिकाबीच तेस्रो चरणकाे बार्ता सम्पन्न, दुवै पक्ष ‘ह्याप्पी मुड’ मा

डिसी नेपाल
१४ वैशाख २०८२ १०:०३

ओमान। इरान र अमेरिकाबीचको तेस्रो चरणको परमाणु वार्ता ओमानको राजधानी मस्कटमा शनिबार सकिएको छ। तेहरानको तीव्र गतिमा अघि बढिरहेको आणविक कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीचको तेस्रो चरणको वार्ता शनिबार सकिएको हो।

ओमानको राजधानी मस्कटमा भएको सो वार्तामा धेरै गम्भीर विषयमा गहिरो छलफल भएको र आगामी दिनमा फेरि भेट्ने प्रतिबद्धता दुवै पक्षले भने गरेका छन्। वार्ताका क्रममा केही सकारात्मक संकेत देखिएको छ, यद्यपि धेरै प्रमुख मुद्दाहरूमा मतभेद कायमै रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।

जानकारीका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले दुवै पक्षले दिनभर लिखित बुँदाहरू आदानप्रदान गरेकाेृ र यस पटकको वार्ता पहिलेभन्दा बढी गम्भीर र परिणाममुखी बनाउन केन्द्रित भएको बताए।

उता, अमेरिकी मध्यस्थ स्टिभ विटकफसँग सम्बन्धित स्रोतले पनि वार्ता समाप्त भएको पुष्टि गरेको छ। एक वरिष्ठ अमेरिकी अधिकारीले पनि वार्तालाई ‘सकारात्मक र फलदायी’ भनेका छन्। यद्यपि उनले अझै धेरै काम गर्न बाँकी रहेको जनाउँदै इरानसँगको अर्को वार्ता युरोपमा छिट्टै हुने आशा व्यक्त गरेका छन्।

मध्यस्थकर्ताको भुमिका निभाइरहेको ओमानका विदेशमन्त्री बद्र अल बुसैदीले पनि वार्ताको सकारात्मक नतिजालाई औंल्याउँदै दुवै पक्षले आपसी सम्मान र दिगो प्रतिबद्धतामा आधारित सम्झौताको साझा आकांक्षालाई मान्यता दिएको बताए।

उनले आधारभूत सिद्धान्त, उद्देश्य र प्राविधिक सरोकारका विषयमा छलफल भएको र अर्को उच्चस्तरीय बैठक मे ३ गते बस्ने तयारी गरिएको बताए। यसअघि मस्कट र रोममा पनि यस्तै दुई चरणको वार्ता भइसकेको छ।

आणविक वार्ताको उद्देश्य इरानको आणविक कार्यक्रमलाई सीमित गर्नु र बदलामा अमेरिकाबाट इराक माथि लगाइएको कडा अमेरिकी प्रतिबन्ध हटाउनु मुख्य रहेको छ। उल्लेखनीय छ कि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा सन् २०१५ मा भएको आणविक सम्झौताबाट एकतर्फी रूपमा बाहिरिएका थिए, जसका कारण यस क्षेत्रमा तनाव बढिरहेको छ।

तर, यसपटक ट्रम्पले वार्तामा प्रगतिको आशा व्यक्त गरे पनि सहमति हुन नसकेमा  सैन्य कारबाहीको विकल्प खुला रहेको चेतावनी पनि दिइसकेका छन्। साथै, वार्ताबाट केही सकारात्मक नतिजा आउने र इरानको आर्थिक स्थितिमा सुधार आउन सक्नेमा इरानी जनता पनि आशावादी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *