बीपीवादका लागि स्थानीय तहमा सामुदायिक सत्ता

बीपीले भनेजस्तै अमेरिका संकटमा पर्न लागेको हो ?

डा. विजयप्रसाद मिश्र
१५ वैशाख २०८२ ७:२५

अहिलेको यान्त्रिक भौतिकवादी विकासको विश्वव्यापी मोडलले विश्वलाई कहाँ लाने हो भन्ने प्रश्न बीपी कोइरालाले आफ्नो जीवनकालमा पटक पटक उठाएका थिए। अमेरिकामा डोनाल्ड ट्रम्पको आगमन पछि राजनीतिमा व्यापार र व्यापारीको घुसपैठ कहालिलाग्दो गरी प्रवेश भइरहेको छ।

बीपीले अमेरिकामा दिएको प्रबचनमा उसले यही ढङ्गले प्राकृतिक स्रोतहरुको दोहन या उपयोग गरिरहने हो भने एक शताब्दीपछि अमेरिका स्वयं संकटमा पर्नेछ भनेर सुझाव दिएका थिए।

उनको त्यो सुझाव अमेरिकालाई पचेन होला जसले गर्दा १८ महिनामा नै बीपी प्रधानमन्त्रीबाट बाहिनुपर्ने विभिन्न कारणहरुमध्ये एउटा कारण अमेरिकालाई दिएको सुझाव उसलाई नपच्नु पनि हुन गयो।

तर सत्य त आखिर सत्य नै हुन्छ। बीपीवादलाई कसरी अभ्यासमा ल्याउन सकिन्छ भनेर चिन्तन गर्दा अमेरिकालाई उनले दिएको सुझाव नेपालमा कसरी अभ्यासमा ल्याउन सकिन्छ भन्ने कोणबाट पनि सोच्नु पर्ने भएको छ। त्यसैले बीपीवादका लागि स्थानीय तहमा सामुदायिक सत्ताको अवधारणालाई अभ्यासमा ल्याउनु पर्ने देखिन्छ।

कोरोनाको कहर, ट्रम्पको रहर, पुटिनको सनकजस्ता धेरै अन्य प्रकृतिमाथि खेलवाड गर्नेहरुको होडवाजीले निम्त्याएको संकटबाट विश्वले मुक्ति पाउन विकासको नयाँ मोडलको खोजीमा विश्व लाग्ने नै छ। तर यहाँ विश्वको चिन्ता छोडेर नेपाल र नेपालीकै चिन्ता गरौं।

त्यो पनि बीपीले नेपाली परिवेशमा विकास गर्नका लागि विभिन्न सन्दर्भमा भनेका विषयहरुलाई एकीकृत गरेर स्थानीय तहको विकासका लागि बीपीवादलाई कसरी कार्यान्वयन गर्न सक्नेछौं भन्ने विषयमा केन्द्रित भएर चिन्तन गर्नुपर्ने भएको छ।

बीपीले कृषि क्षेत्रको विकासमा ज्यादै उच्च प्रविधिको वदलामा नेपालले प्रयोग गरेका केही मात्रामा सुधार गरेर प्रयोग गर्नुपर्दछ भनेका थिए। विदेशीले आएर चलाइदिनु पर्ने वा विदेशीले मरमत गर्न आइदिनुपर्ने खालका प्रविधिहरु प्रयोगलाई रोकौं भन्ने बीपीको धारणा थियो।

ल्याउनै परे पनि पहिले आफूले प्रविधि प्रयोग र मरमत गर्न सिकौं त्यसपछिमात्र देशमा ल्याएर प्रयोग गरौं भनेका थिए। तर हामी बीपीको कुरा सुन्ने, मनन् गर्ने पक्षमा छैनौ। हाम्रा अर्थमन्त्रीहरु पश्चिमा शिक्षाबाट प्रभावित भएकाले हाम्रो विकासको ढाँचा ‘न हाँसको चाल न बकुल्लाको चाल’ जस्तै भएको छ।

हामी नेपालीहरु अहिले यान्त्रिकतर्फ उन्मूख मात्र छौं। हामीले तत्काल हाम्रो विकासको मोडल परिवर्तन गरेनौं भने मानवीय वर्चश्वलाई भड्कालोमा हाल्न सक्छौं। यस्तो अवस्थामा प्रकृतिमैत्री, जैविक, समावेशी, सामाजिक न्यायमा आधारित दीगो विकासको अवधारणालाई आत्मसाथ गर्नुको विकल्प छैन।

बीपीको प्रजातान्त्रिक समाजवादभित्रको आर्थिक विकासको खाकालाई प्रयोगात्मक अभ्यासमा ल्याउनका लागि समाजवादको नयाँ मोडलमा यसलाई घुसाउनु आवश्यक छ। पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले यसबारेमा बहस चलाउनु पर्ने देखिन्छ।

गाउँ, समुदायको विकास गर्छु भनेर जनप्रतिनिधि भएकाहरुले अग्र्यानिक ज्ञान र सीपको पुर्नजागरण तर्फ हात हाल्ने बेला आइसकेको छ। यसका लागि हामीले पुर्खाले दैनिकी सञ्चालनका लागि गरेको जोरजाम र त्यसको जैविक र प्राकृतिक महत्वको बारेमा बुझ्न आवश्यक छ।

परापूर्वकालदेखि मानव र समुदायले गरेको प्रयोग, तर्क र बुद्धिबाट परिष्कृत भएर आएको अनुभवहरुबाट स्थापित मानवीय मूल्य मान्यताको आफ्नै गौरब छ।

समाजका घर, परिवार, समुदायको समस्या समाधान गर्न, दैनिकी सञ्चालन गर्न, मनोरञ्जन गर्न स्वतस्फूर्त रुपमा बनिएका समूह, समिति, सञ्जालले निरन्तर गरिरहेको क्रियाकलापहरुबाट विस्तारै विकसित हुँदै बनेका संस्कार र त्यही संस्कारहरु अनुशरण गर्दागर्दै तयार भएको स्थानीय संस्कृति, लोक संस्कृति नै जीवनका सही आधारहरु हुन्।

मानवीय मूल्य मान्यता, संस्कार र संस्कृतिहरुको ज्ञानको कुनै अन्तिम विन्दु हुँदैन। यो अनन्त, असिमित, निरन्तर भइरहने कुरा हो। यसैको सेरोफेरोमा मानव जीवन परिचालित छ।

ज्ञान विना जीवन अधुरो छ र जीवनहरुको अनुभुति, व्यवहार, आइपर्ने समस्या र तिनको समाधानका लागि अपनाइएको तौरतरिकाहरुलाई मथेर नै ज्ञानको प्रतिपादन हुन्छ। ज्ञान र जीवनबीच नङमासुको सम्बन्ध छ। पालिकाले यसलाई बुझ्न नसकेमा नक्कली विकास तर्फ फस्न सक्छ।

जीवन कसरी जीऊने त्यो मानवको इच्छामा भर पर्ने कुरा हो। तर, यो घरपरिवार, सामाजिक परिवेश र गाउँघर छरछिमेकमा विद्यमान परम्परागत ज्ञान सीप, परिपाटी, बोलीबचन, व्यवहार, रितिथितिबाट थोरबहुत निर्देशित हुन्छ।

बीपी पुत्र डा. शशांक कोइरालाले बुवाले जहिले पनि नेपाल भनेको गाउँ हो, त्यसैले सबै कार्यक्रम गाउँमा हुनुपर्दछ भन्ने गरेको सम्झना गर्दै पत्रकारहरुलाई त भन्ने गरेको सुनिन्छ। तर व्यवहारमा बीपीको नीति लागूगर्ने स्थानमा उनी पुगेका छैनन्।

डा. शेखर कोइराला समेत स्थानीय तहमा नमुनाकै रुपमा भएपनि बीपीको आर्थिक विकासको ढाँचालाई प्रयोगमा ल्याएर त्यसमा अनुसन्धान गरेर बीपीवाद बनाउने सोचमा रहेको देखिन्छ।

तर यसका लागि सिंगो आर्थिक विकासका लागि खट्ने नेपालका सरोकारवालाहरुको दिमागमा बत्ति बल्नु पर्दछ। त्यसका लागि पनि यो लेखले सहयोग गरोस् भन्ने लेखकको चाहना छ।

समाजमा स्थापित मूल्यहरुलाई सृजनात्मक ढंगले अनुशरण गर्ने, समुदायका किसान, माटो, धातु, काठ, छाला र अन्य समाग्रीहरुबाट मानवलाई चाहिने बस्तु बनाउने, भएकोलाई मरमत गरेर समाजको आवश्यकता पुरा गर्ने, महिला, आदिवासी, दलित तथा अन्य जाति विशेषले प्राप्त गरेका सीप र ती सीपहरुबाट निर्माण भएका अग्र्यानिक समाग्रीहरुले समाजको ‘इको सिस्टम’लाई थेगेर बसेका छन्।

सबैको महत्व छ। एउटा समुदायले आफूलाई आवश्यक सबै चिजको उपलब्धता वरपर हुने गरी आफ्नो संरचना निर्माण गरेको हुन्छ। एउटा पूर्ण समुदायमा भएका सीप र ज्ञान वा विद्याले सामान्य जीवनलाई आवश्यक सबै कुराको पूर्ती गरेको हुन्छ।

समुदायको महत्व बढाएको हुन्छ। पालिकालाई चाहिएको पनि त्यही हो। जसले समुदायलाई, गाउँ, टोल, परिवारलाई फाइदा हुन्छ त्यही ज्ञान र सीपको संरक्षण र प्रबर्धन गर्नु पर्दछ।

समुदायको संस्कार, संस्कृतिभन्दा बाहिर गएर जो देखासेखीमा फस्दछ। जसले आफूलाई समुदाय भन्दा अलग बनाउने कुचेष्टा गर्दछ, उसको जीवनले उसलाई मानव नभएर मेसिनतूल्य बनाइदिन्छ। ऊसँग सुख सयल भए पनि उसले आत्मसन्तुष्टि पाउँदैन।

आदर्श, नैतिकता, सृजनाशीलता, कल्पना शक्ति ऊबाट विस्तारै टाँढिदै जान्छ। मानव सृजनशील प्राणी हो। सृजनशीलता सामान्य जीवनमा जति फुर्दछ त्यती व्यस्त जीवनले फुराउन सक्दैन। आधुनिक जीवनले परम्परागत जीवन पद्दतीका धेरै मानवीय मूल्य मान्यताको हत्या गर्दै गएको छ।

समुदायको मानवीयतालाई जीवित राख्न गाउँपालिका र नगरपालिकाले विशेष ढंगले नीति बनाएर स्थानीयता सुहाँउँदो कार्यक्रम गर्नु पर्दछ। बीपी कोइरालाले नेपालको आथिएक विकासका लागि एक स्वतन्त्र, आत्मनिर्भर र प्रजातानित्रक समाजको परिकल्पना गरेका थिए जसमा जनताको सशक्तीकरण, समानता र आर्थिक अवसरहरुमा पहुँचको सुनिश्चितता हुनपर्दछ भन्ने थियो।

उदाहरणका लागि उहाँले प्रत्येक परिवारमा एउटा दुहुना गाई होस् भन्नु भएको थियो। यसलाई उनकै अनुयायीहरुले समेत सोझो रुपमा अव त डेरीमा दुध पाइहाल्छ किन गाई पाल्नु पर्‍यो भनेर लालबुझक्कड जस्तो तर्क दिने गरेको देखिन्छ।

तर वास्तविकतामा त्यो होइन। गाईको दुधले पोषण दिन्छ भनेर नेपालीले स्वस्थ्य रहन दिनभरमा खानुपर्ने पोषण पुग्नेगरी खान पाउन, गाईको गोबर र गउँतबाट शुद्धीकरण गरेर आर्यूवेदमा प्रयोग गर्दै खेर जानेबाट विषादीरहित मल उत्पादन र मलम उत्पादन गर्ने सम्मको परिकल्पनाका साथ गाई पाल्नु भनेका थिए होलान भनेर सकारात्मक सोचका साथ व्याख्या समेत गर्न सकिन्छ।

तर त्यसका लागि नेपाली काँग्रेसका महामन्त्रीहरुलाई चाँसो छैन। गगन थापा कुरिलो खेती गरेको थिएँ, बजार नपाएकोले खेतमै जोतिदिएँ भनेर टेलिभिजनमा अन्तर्वार्ता दिइ हिँड्छन्।

प्रोजेक्टका लागि मासु पसल खोल्छन्, त्यसलाई सफल बनाएर नागरिकलाई हौसला दिनु पर्नेमा आर्थिक विकासमा प्रयोग विहीन मन्तव्य दिने र बीपीको बारेमा पुस्तकका ठेलीहरु, लेखहरु लेखेर राजनीतिको लागि सिँढी बनाउन उपयोग गर्दछन् भने केही भन्नु छैन।

तर बास्तविकतामा डा. शेखर कोइराला वा कोइराला परिवारका डा. शशांक कोइरालाहरु एकजुट भएर एक पटक बीपीवादलाई स्थापित गरेर अघि बढौं भन्ने प्रण गरेभने केही हुन सक्दछ।

किनकी अहिलेको संविधान जारी गर्न सुशिल कोइरालाले गर्नु भएको त्यागलाई कम्तिमा कोइराला परिवारले आत्मसाथ गरेर संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई सदुपयोग गर्दै बीपीवादलाई प्रयोगमा ल्याउन सक्ने देखिन्छ।

राजनीतिमा केन्द्रिकृत सत्ताको हावी छ। हिजोआज नेपालमा गणतन्त्रवादीहरु आफूमात्र शासनगर्न योग्य हौं, राजावादी वा हिन्दूवादीहरुलाई राजनीतिको मूलधारमा आउन नदिने दाउपेँच गर्नमा नै व्यस्त छन्।

गणतन्त्र भ्रष्टचार गर्ने हतियार हो कि भन्ने भाष्य निर्माण भइरहेको छ। तर बीपीवादले यसलाई मान्दैन। केन्द्रले जे गर्दैछ त्यो जनचाहना विपरित छ। तर, स्थानीय लोकतन्त्रका लागि, जसको लागि विकास हो उसको चाहना अनुसारका काम हुनका लागि केन्द्रिकृत सत्ता फलदायी हुँदैन।

अहिलेको केपी ओलीको नेतृत्वको सरकारले गरेको संस्थागत भ्रष्टचार र त्यसलाई रोक्न नसक्ने केन्द्रिय शक्तिहरुको रबैयालाई हेर्दा स्थानीय तहमा सामुदायिक शक्तिलाई बलियो बनाएर लानुपर्ने देखिएको छ।

त्यसैले सामुदायिक सत्ता नै गाउँका लागि, समुदायका लागि, परिवारका लागि अरुभन्दा उपयोगी हुन्छन्। त्यसैले राजनीतिक सिद्धान्तलाई भन्दा गाउँघरको परिवेश अनुसार फरक परिवेशमा फरकफरक व्यवहारहरु गरेर समस्या समाधानकालागि सिंगो समुदाय सहभागितामूलक ढंगले अघि बढ्नु पर्दछ। यो नै दीगो विधि हो। सामुदायिक सत्ताको अवधारणा पालिकाले मात्र कार्यान्वयन गराउन सक्दछ।

गाउँघरमा पहिले बनेका सिंचाई गर्ने कुलोहरु समुदायका किसानहरुले आपसमा पालो पालो शारिरिक श्रम गरेर पानी आउने योग्य बनाउँथे। त्यसले उनीहरुको खेतमा सिंचाई हुने र जीविकोपार्जनका लागि अन्न, तरकारी उब्जाउने काम हुन्थ्यो।

हिजो आज भन्न थालिएको छ, गाउँलेहरुले आफैले मरमरत सम्भार गरी संचालन गरिरहेका सानातिना कुलाहरुमा जब केन्द्रीय सरकारको आँखा पर्दछ तब त्यसमा दशा लाग्न शुरु हुन्छ।

अर्थात, सानो कुलोमा क्षमता भन्दा बढी बजेट हालेर ठूलो नहर बनाइन्छ, कमिशनको खेलमा कमसल बनाइन्छ, बाहिरका इन्जिनियरको सहभागितामा बनाइन्छ जसले नहरमा स्थानीय ममत्व हटछ्। कुनै वेला ठूलो बाढी आएर भत्किएपछि बर्षौ त्यसको मरमत हुँदैन। सिंचाई अवरुद्ध हुन्छ। त्यसपछि किसानको नजरमा त्यसमा दशा लागेजस्तै हुन्छ।

त्यसैले भनिन्छ केन्द्रिकृत सत्ता भन्दा परम्परागत सामुदायिक सत्ता स्थानीयताको लागि फलदायी हुन्छ। नेपालमा स्थानीय सरकारको अवधारणा पनि यसकै उपज हो। तर, व्यवहारमा अझै केन्द्रिकृत शासन पद्दती हुनु विडम्बना हो। पालिका नै नागरिकको घरदैलोमा पुगेको हुन्छ। उसले नै यसलाई अगाडी बढाउनु नै पर्दछ।

विज्ञान, आधुनिक शिक्षा, संगठित धर्म, अंग्रेजी चिकित्साले गर्दा मानिसलाई आफ्नो स्वभाविक जीवन निर्वाह गर्न दिइरहेको छैन। समाजमा तड्क भड्कले प्रवेश पाएको छ। बर्थडे संस्कारदेखि जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, पर्वहरुमा फजुल खर्चको होड चलेको छ।

निजी शिक्षा, नसिंङ् होमको संस्कारले गर्दा शिक्षा र स्वास्थ्य धेरै पैसा हालेर किन्नु परिरहेको छ। कम्यूनिष्ट हुँ भन्नेहरु नै शिक्षा र स्वास्थ्य बेच्ने पेशा गर्दैछन्। यसले समाजलाई खर्चालु बनाइरहेको छ। खर्चको जोहो गर्न देशका मौरी रुपी यूवाहरु दिनहुँजसो जहाजबाट भुर्रभुर्र उडेर विदेशिएका छन्।

गाउँघरमा महिला, दलितसंग भएको सीपको संरक्षण र प्रवर्धन गरिएको छैन। उनीहरुको श्रमको मूल्य नै छैन। प्लास्टिक यूगले बातावरणलाई असर गरेको र पृथ्वीको आयू घटाउने काम गरिरहेको छ।

यसको व्यवस्थापनका लागि भौतिक कुराहरु त गरिएको छ, तर मानवलाई नै व्यक्तिगत रुपमा प्लास्टिक विरोधी मनस्थिति बनाउन सकेको देखिदैन। स्थानीय जातीय समस्याको मूल मर्म स्थानीय परिवेशमा भिजेकालाई जति थाहा हुन्छ त्यही केन्द्रमा बसेर पोलिसी बनाउनेलाई थाहा हुँदैन। त्यसैले यसलाई पालिकाले नै सही ढंगले सम्वोधन गर्न सक्छ।

किसान, सीप भएका कारीगर, महिला, दलित, जनजाति, आदिवासीले गर्ने उत्पादनहरु, उनीहरुको कला, सानोतिनो पसल गर्नेहरु, गाउँघरमा विभिन्न सामाग्रीको मरमत सम्भार गरेर परिवार र समुदायको आवश्यकता पुरा गरिदिइरहेका व्यक्तित्वहरुका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छैन।

यी ज्ञानहरुलाई लोप हुन दिनु हुँदैन। यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने दायित्व समुदायको हो। त्यसका लागि बातावरण मिलाउने काम सरकारको हो।

नगर पालिकाहरुले जहाँ अबर त्यहाँ नगरको अवधारणा अनुशरण गर्न सक्दछन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कतै एम्बुलेन्स दिन्छन्, कतै विद्यार्थीलाई परीक्षावाट फर्किदा राजनीतिक आन्दोलनले गाडी नपाउँदा यातायातको व्यवस्था गरिदिन्छन्।

सानासाना कामले पनि नागरिकको अभिभावकत्वको भूमिका निर्वाह गर्दा नागरिक र नगर एउटै परिवार जस्तो महशुस हुन्छ। बीपीले सबैलाई कुनै न कुनै सीप दिनुपर्दछ भन्ने गरेका थिए।

हामीले पालिकामा ‘उत्पादनमा हाम्रो साथ बस्दीन म खाली हात’, विकासवाट प्रभावितहरुको लागि विकास, कृषि र पशुमा लगानी ल्याउँछ सुनौलो विहानी, सुशासन र सामाजिक परिचालन दीगो विकासको आधार, कृषि एम्बुलेन्स, राशनपानी डटकम खोलेर कृषकको उत्पादनको बजारिकरणमा साथी बनिदिने हो भने बीपीले सोचेको गाउँको विकास गर्न धेरै बर्ष कुर्नै पर्दैन।

मानवले मानवलाई गर्ने शोषणको अन्त्यका लागि सबैखाले सीपको सम्मान गर्ने नियम कानून र व्यवहार हुनु पर्दछ। समाज सञ्चालन, आपसी भाइचारा सम्बन्ध स्थापना समेत मानवको विद्याको आधारमा तय हुन्छ। गाउँघरमा छरिएर रहिरहेका विद्याहरुले नै मानिस र समाजको निर्माण र पुर्ननिर्माण गरिरहेको हुन्छ।

हाम्रो समाजमा अहिलेको पुस्तासम्म त विभिन्न धर्मका देउताहरुको गाथाको आधारमा परिचालित छन्। तर, अब आउने नयाँ पुस्ताले धर्मले मानेका पात्रहरुलाई मानेर बस्छन् भन्ने छैन। उनीहरुका बेला धर्मको उपहास गरेर समाज सञ्चालनको प्रक्रियामा अराजकता आउन सक्छ। वेथिती हुन सक्छ।

त्यसका लागि गान्धी, मार्टिन लुथर, नेशनल मण्डेला, बुद्ध, विपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, राजा बीरेन्द्र, योगमाया जस्ताको असल चरित्रको प्रचार प्रसार गरेर यूवाहरुलाई वा भावी पिढीलाई मानवीय मूल्यमान्यतालाई आत्मसाथ गरेर अघि बढ्ने बनाउनु पर्ने हुन्छ।

धर्मको आधारमा वा पूँजीको आधारमा तय भएको समाजमा बैमनस्यता हुन्छ। पुरानो आस्थालाई संरक्षित गर्न, गाउँको महत्व बढाउन, परम्परागत समिति, समुह, सञ्जाल बढाएर मावनीय संस्कारलाई धारासायी हुन नदिनका लागि सामाजिक क्रान्ति वा पुर्नजागरण गर्नु पर्दछ। अहिलेको सरकारले यसतर्फ ध्यान दिएको छैन।

परम्परागत सीप र सद्भावलाई सुचारु राख्न नयाँ बनाउन लागेका सहरहरुमा समेत गाउँका विशेषताहरु झल्किने गरी भौगोलिक परिवेश, समुह समितिहरु निर्माण गर्नु पर्दछ। मानवहरुलाई गाउँफर्कने अभियानमा लाग्न अभिप्रेरित गर्ने र गाउँको विद्यालाई संरक्षण गर्ने अभियानमा सरिक हुन आह्वान गर्नु पर्दछ। आश्रमहरुको निर्माण गर्नु पर्दछ।

नमुना बस्तीहरु बनाएर काम गर्नु पर्दछ। उद्यमी बन्न चाहने यूवालाई उनको चाहना अनुसारको सीपका लागि तालिमको व्यवस्था गरिदिने, सामुहिक खेती प्रणाली, व्यवसायिक खेती प्रणाली, सहकारिता, सहकार्य, मिलिजुली अवधारणालाई प्रोत्साहन गर्ने विकासका गतिविधिहरु गर्ने काम स्थानीय सरकारले गर्न सक्दछ। बर्तमानमा रहेका पालिकाका सबै कामदारहरुलाई थप दक्ष बनाउने अभियान संचालन गरेर शसक्तिकरण गर्ने कार्यक्रम संचालन गरेर पनि बीपीवादलाई अनुशरण गर्न सकिन्छ।

मिडिया उद्योगको विकास, सञ्चार प्रविधिको विकास, नीजिकरणका कारण बढी भन्दा बढी नाफा केन्द्रित व्यवसाय संचालनमा आएको छ। अमेरिकाको हस्तक्षेप, नेपाल प्रति भारतको हेपाहा प्रबृत्ति र पश्चिमा नीतिका कारण मुस्लिम समुदाय प्रति गरिएको भेदभाव, विश्वव्यापीकरणका कारणले प्रवेश गरेको मल्टिनेशनल कम्पनीका उत्पादनका विज्ञापनहरुले नेपाल र नेपालीको समान्य जीवन प्रक्रियालाई नै तहसनहस गरिदिएको छ।

किसान, गाउँघरका काठ, फलाम, माटो र अन्य बस्तुबाट विभिन्न समाग्री बनाएर जीवन गुजारा गरिरहेका परिवार, हातको सीपको प्रयोग गर्ने, शारिरिक श्रम गरेर समाजको दैनिकी चलाउने मूख्य योगदान दिने समुदाय, माटो, धातुहरुको चित्र, मुर्तिहरु बनाउने सीपवान व्यक्तिहरु, स्वास्थ्य उपचारमा खटिएका प्राकृतिक औषधीमूलो गर्नेहरु, महिला, दलित, मरमत सम्भारमा संलग्न हुनेहरुको सीप र ज्ञान कै बलले समुदायको सबै मानवको जीवन चलिरहेको थियो। यसको संरक्षण गर्नु आवश्यक छ। यसका लागि विकल्प सहितको हिंसा रहित आन्दोलनको जरुरत छ।

परम्परागत सीप र कला गरिबी, उत्पीडन, शोषण र सरकारी उदासिनताको सिकार भएको छ। नेपाली समाजमा अहिले पनि ती विद्याका अंशहरु कायम छन्। जसको पुर्नजागरण आवश्यक छ। गाउँदेखि नै यसको पुर्नजागरण गर्नका लागि पालिका सक्रिय नभए सम्भव छैन।

किसान, कृषि मजदुरले जग्गाको लागि गरेको आन्दोलन, कृषि उपजको उचित मूल्यका लागि गरेको आन्दोलन, सिंचाई, मलखाधका लागि गरेको आन्दोलनका पक्षमा लागिदिनु पर्दछ। जल, जमिन र जंगलमा स्थानीय समुदायको अधिकारको आबाज उठाउनु पर्दछ। प्रत्येक परिवारमा एक रोजगार दिने सरकारी नीतिलाई कार्यान्वय गराउन सकियो भनेपनि हाम्रो गाउँ बचाउन सकिन्छ।

कृषिलाई काम लाग्ने, स्थानीय सीपहरुलाई परिस्कृत गर्न काम लाग्ने गरी गरिएको अनुसन्धानहरु अंग्रेजी भाषामा छापिने चलन छ। कृषक र स्थानीय सीप गरेर बसिरहेका समुदायले बुझ्ने स्थानीय भाषामा ती अनुसन्धानहरु छापिनु पर्दछ।

हाम्रो गाउँघर विभिन्न कलाको घर थियो। त्यसलाई पुर्नजीवित गर्नु पर्दछ। मानव जीवनलाई कलात्मक बनाउनका लागि पनि स्थानीय विद्या आवश्यक हुन्छ। अग्र्यानिक विद्यालाई व्यवस्थित गर्ने, त्यसप्रति यूवाहरुको अभिरुची जगाउने, नीति निर्माणकर्ताहरुलाई त्यसको प्रवर्धन हुने गरी कानून निर्माणमा दवाव दिने अभियान संचालन गरिनु पर्दछ।

समुदायको लोक गीत, लोक साहित्य, लोक संस्कृति, लोक चित्र सबै चोरी भएर विदेशिएको छ। नेपाल हस्तलिखित ग्रन्थका लागि विश्वमै प्रख्यात छ। विश्व सम्पदासूचीमा नेपालका दुई हस्तलिखित पुस्तकहरु परेका छन्। यस्ता गौरबका कुराहरुलाई प्रचार गरेर यूवालाई पौराणिकता प्रति आकर्षण बढाउनु पर्दछ।

बजारीकरणले लोक संस्कृति माथी प्रहार गरिरहेको छ। इतिहास लेख्नेहरुले राजा महाराजका कथाहरुलाई प्राथमिकता दिएर यूवाहरुमा यसको आकर्षण घटाइ रहेका छन्। गाउँघरका मौखिक गाथाहरु पनि इतिहास हो भन्ने विश्वास दिलाउने गरी अभियान संचालन गरिनु पर्दछ।

इतिहासको व्याख्यामा मानिसको रचना, क्रियाशिलता र मुक्तिको चित्रण हुनु पर्दछ। यसले स्थानीय गाथाहरु अन्र्तराष्ट्रियकरण हुन्छ। गाउँका सीप, प्रचलन, संस्कृतिको बारेमा प्रचार हुन्छ। राम्रा कुराहरुको अनुशरण हुन्छ। यसले नेपाल र नेपालीको पहिचान विश्वमा बढेर जान्छ।

संरक्षण गरिएकै विद्या, सीप, परम्पराको अवलोकन, अध्ययनका लागि विश्वका पर्यटकहरु नेपाल आउनेछन्। जसले नेपालीहरुको सुकेका ओठहरु रसाउन सहयोग गर्दछ।

पालिकाहरुले भौतिक विकासका कुराहरुमा मात्र ध्यान नदिएर स्थानीय सीप, कला, संस्कृतिको संरक्षणका लागि पनि उल्लेख्य बजेट विनियोजन गरेर अभियानकै रुपमा केही बर्ष अघि बढाउने हो की ? की यसका लागि पनि बैकल्पिक शक्ति कै खाँचो छ ? पालिकाहरुले पाएको अवसर गुमाउँदैछन्।

यहाँ उठाइएको विषयमा केन्द्रित रहेर विकासका मोडल बनाउन नागरिक समाज, बौद्धिक बर्गले पालिकालाई दवाव दिनु पर्दछ। बीपीवादलाई स्थानीय सरकारले अनुशरण गर्ने हो भने बीपीले भन्ने गरेको पाँच कुरालाई मुलमन्त्रको रुपमा व्यवहारमा लागू गर्नु पर्दछ।

ती पाँच कुरा भनेको पहिलो, सामाजिक प्रवृत्तिको छनौट, दोस्रो, सभ्यताको अनुसरण, तेस्रो नैतिकता अपरिहार्यता, चौथो, व्यवहारिक रुपमा रुपान्तरण र पाँचौ, आत्मनिर्भर बन्ने क्रियाकाप हो। यस लेखमा माथी गरिएको विश्लेषणहरुलाई स्थानीय सरकारले अभ्यासमा ल्याउने हो भने यी पाँचै कुराहरुको सम्बोधन हुनेछ। जय बीपीवाद।

(लेखक मिश्र, त्रिभुवन विश्वविद्यालय, इतिहास केन्द्रीय विभाग, कीर्तिपुरमा सहप्राध्यापकका रुपमा कार्यरत छन्। )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *