खैरो हिरोइनसहित तीन जना पक्राउ

डिसी नेपाल
१४ वैशाख २०८२ २०:११

काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौंडा १ चौकी टोलबाट अटोमा ल्याइरहेको खैरो हिरोइनसहित तीन जना पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ ह १५२८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा ७ सय ग्राम ३९० मिलिग्राम खैरो हिरोइन फेला परेको हो।

उनले अटोमा आएका हेटौंडा ११ का २७ वर्षीय सुमन गुरुङ र हेटौंडा १ का २० वर्षीय बुद्धिमान थिङलाई शङ्काको आधारमा जाँच गर्दा उनीहरूको साथबाट प्रहरीले ५ सय मिलिग्राम खैरो हिरोइन फेला परेको जानकारी दिए।

पक्राउ परेका गुरुङ र थिङलाई सोधपुछ गर्दा लागूऔषध हेटौंडा १ लालझाडीका ३२ वर्षीय सुरेश तामाङसँग ल्याएको बताएपछि प्रहरीले तामाङको घरमा छापा मार्दा थप ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रवक्ता अर्यालले बताए। तामाङले खाल्डो खनेर लुकाएको अवस्थामा ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको उनको भनाई छ।

लागूऔषधसहित पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *