एचआइभी संक्रमितको गुनासोः औषधि अभाव र उपचारमा समस्या

महेन्द्रनगर (धनुषा)। एचआइभी संक्रमितहरुले औषधि अभाव र उपचारमा समस्या हुने गरेको गुनासो गरेका छन्। ‘एचआइभी संक्रमित व्यक्तिहरुको मानवअधिकार अवस्था विषयक नीति संवाद कार्यक्रम’ जनकपुरधाममा आज सम्पन्न कार्यक्रमहरुमा उनीहरुले आफूले भोगेका समस्याबारे गुनासो राखेका थिए।
राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशद्वारा आयोजित उक्त कार्यक्रममा आयोगले तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी एचआईभी संक्रमित अधिकांशले अस्पतालमा औषधि अभाव र उपचार सेवामा समस्या भोगेको सुनाए।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुघ्नप्रसाद सिंहले एचआईभी संक्रमितहरूको पीडा सुन्दा आफू दुःखी भएको र खुला सीमाका कारण समस्या थपिएको बताए। उनले स्वास्थ्य संस्थामा चिकित्सकले बिरामीप्रति हेलचेक्र्याइँ गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिए।
उनले पहिलेको तुलनामा अहिले प्रादेशिक अस्पतालको सेवा सुधार भएको दाबी गरे। अध्यक्ष बुद्धनारायण सहनीले एचआइभी संक्रमण शरीर तथा समाजभित्र रहेको भए पनि अझै खुलेर आउन नसकेको बताए। उनले संक्रमित स्वेच्छिक रूपमा आफ्नो अवस्था सार्वजनिक गरेमा उपचार र परामर्श सेवा सजिलो हुने धारणा व्यक्त गरे।
Facebook Comment