एकताको सन्देश दिँदै एकै मञ्चमा राजसंस्था पक्षधर

डिसी नेपाल
१६ वैशाख २०८२ ७:४२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार रत्नपार्कको शान्ति बाटिकामा आयोजना गरेको सभाले राजावादी आन्दोलनमा ‘अभूतपूर्व’ एकताको सन्देश दिएको छ।

लामो समयदेखि विभाजित रहेका राजावादी धारका प्रमुख नेताहरू पहिलोपटक एउटै मञ्चमा उभिएर एकताको प्रतिबद्धता जनाएका छन्। कमल थापाको निम्तोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सभाको अन्तिम चरणमा रत्नपार्क पुगेका थिए।

लिङ्देन आउनासाथ उनले छोटो सम्बोधन गरे र तल झरे। त्यसपछि कमल थापाले आफ्ना चोटिलो अभिव्यक्तिमार्फत माहोललाई थप रोचक बनाए। भाषण सकिएपछि थापाले सबै प्रमुख नेताहरूलाई पुनः मञ्चमा बोलाए।

थापाले सबैभन्दा पहिले राजेन्द्र लिङ्देनलाई निम्त्याउँदै भने, ‘हामी सबै एक छौँ र एक रहनेछौँ भन्ने सन्देश दिनका लागि म आग्रह गर्न चाहन्छु राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनलाई मञ्चमा आइदिन आग्रह गर्दछु।’

लिङ्देन मञ्चमा उक्लिए, हाँस्दै हात हल्लाउनुभयो र थापासँग हात समातेर उचाले। त्यसपछि नवराज सुवेदी, केशरबहादुर विष्ट, बिपी कांग्रेसका महामन्त्री देवेन्द्र पौडेल र शिवसेना नेपालकी उपाध्यक्ष गंगा चौधरी समेतको मञ्चमा उपस्थिति थियो।

सबै नेताहरूले एक-अर्काको हात समातेर एकताको सन्देश प्रकट गरे। कार्यक्रममा थापाले राप्रपाको खुलेर प्रशंसा गर्दै भने, ‘राप्रपा अहिले देशको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो। सबैलाई समेटेर अघि बढ्नुपर्ने जिम्मेवारी राप्रपाले लिनुपर्छ र त्यसका लागि माननीय राजेन्द्र लिङ्देनजी अगाडि बढ्नुपर्छ।’

दुवै नेताले एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको राजावादी उत्साह र १५ चैतको तीनकुने प्रदर्शनपछि केही कमजोर बनेको आन्दोलनलाई पुनः सशक्त बनाउने उद्देश्यले यो सभा आयोजना गरिएको हो।

सभामा राप्रपाका वरिष्ठ नेता धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायत नेताहरूको उल्लेख्य उपस्थिति थियो। सबैले एक भएर अगाडि बढ्ने संकल्प व्यक्त गरेका छन्। नेताहरूको एकताको सन्देशले राजसंस्था समर्थक पनि उत्साहित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रका नाममा हाल देशमा निरंकुशता र लुटतन्त्र हाबी भएको आरोप लगाए। सोमबार (वैशाख १५) काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाए।

‘अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको निरंकुशता र लुटतन्त्र हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामीबाहेक अर्को विकल्प र शक्ति छैन । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ,’ उनले भने।

उनले सबै प्रकारका आग्रह-पूर्वाग्रह त्यागेर देशलाई निकास दिन तयार हुनुपर्नेमा जोड दिए। यसका निम्ति आफ्नो पार्टी तयार रहेको उनले बताए। ‘राजसंस्थाको आवाज उठाउने हाम्रा साथीहरूलाई खोजीखोजी कस्टडीमा राखिएको छ। लोकतन्त्र र मानव अधिकारको कुरा गर्नेहरूले चैत १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाए,’ उनले भने।

अलोकतान्त्रिक र मानव अधिकारविरोधी गतिविधिका विरुद्धमा सशक्त गतिविधि अघि बढाउन जरुरी रहेको उहाँको भनाइ थियो । ‘लोकतन्त्रको नामको लुटतन्त्रको विरुद्धमा जुटौँ । चैत १५ गतेको घटनाको न्यायिक छानविनको लागि सशक्त आवाज उठाऔँ,’ लिङ्देनले भने। राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना र संघीयता खारेजका पक्षमा गरिने सबै कार्यक्रममा राप्रपाले ऐक्यबद्धता जनाउने उनले बताए।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *