‘न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको संख्या सात प्रतिशतले बढ्यो’

डिसी नेपाल
१६ वैशाख २०८२ १५:२३

काठमाडौं । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको संख्या करिव ७ प्रतिशतले बढेको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको २०८१ सालको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ।

अघिल्लो बर्षको प्रतिवेदनमा उक्त संख्या २१ दशमलव ७ प्रतिशत रहेको थियो। प्रतिवेदनमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ।

त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनीको संख्या ७७ दशमलव २ प्रतिशत पुगेको छ। अघिल्लो प्रतिवेदनमा उक्त संख्या ७२ प्रतिशत रहेको थियो।

त्यस्तै अघिल्लो बर्ष श्रम अडिट गरिएका उद्योग–प्रतिष्ठानमध्ये ६१ दशमलव १ प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ५० दशमलव दुई प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाइएको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारको रुप फेरिदै गएको अवस्थामा श्रमशोषणको मापनहरु थपिदै गएको र श्रमिकको अधिकार खोसिदै गएको महसुस भएको बताए।

यसअघि प्रत्यक्ष रुपमा रोजदाताहरूले शोषण गर्दै आएकोमा अहिले राज्य वा रोजगारदाताबाट भन्दा पनि अदालतलाई नै प्रयोग गरेर श्रम अधिकार खोस्ने काम भएको पाइएको बताए।

त्यस्तै २०८० मा बालश्रम प्रयोग भइरहेको प्रतिष्ठान शून्य दशमलव ६ प्रतिशत रहेकोमा यसबर्ष पनि सोहि अनुपातमा रहेको जिफन्टले जनाएको छ। जिफन्टले बैशाख १८ गते प्रधानमन्त्रीको उपस्थीतिमा भव्य रुपमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *