वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुपा गाउँपालिका पहिलो

डिसी नेपाल
१६ वैशाख २०८२ २२:२८

गण्डकी। कास्कीका पालिकाको वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा रुपा गाउँपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरेको छ। जिल्ला समन्वय समिति कास्कीले आज सार्वजनिक गरेको अन्तिम नतिजामा रुपाले जिल्लाका सबै पालिकाभन्दा बढी अर्थात् ६८ अंक प्राप्त गरेको हो।

वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७७ लाई आधार मानेर योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलगायत कूल ११८ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको थियो।

मूल्यांकनमा अन्य पालिकामध्ये अन्नपूर्णले ६६ दशमलव पाँच, मादी गाउँपालिकाले ६१ दशमलव पाँच, पोखरा महानगरपालिकाले ४७ दशमलव पाँच र माछापुच्छ्रे गाउँपालिकाले ४५ अंक प्राप्त गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले वित्तीय सुशासनलाई प्रभावकारी बनाउन पालिकालाई आग्रह गरे।

यसैगरी रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरेलगायतले वित्तीय सुशासनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *