तत्कालीन फोरम लोकतान्त्रिक र कांग्रेसबीचको समायोजन कहाँ रोकियो ?

डिसी नेपाल
२० मंसिर २०७६ ८:१४

काठमाडौं। नेपाली कांग्रेससँग पार्टी एकता गरेको तत्कालीन फोरम लोकतान्त्रिकले आफ्नो भागमा परेका ११ केन्द्रीय सदस्यको नाम टुंगो लगाएर बुझाउँदासमेत पार्टी नेतृत्वले निर्णय नगरको भन्दै असन्तुष्टि जनाएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकले बिजय गच्छदार समूहलाई ११ जना केन्द्रीय सदस्य लिएर बाँकी तहको समायोजन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि तत्कालीन फोरम लोकतान्त्रिकले ११ जना नेताको नाम सभापति शेरबहादुर देउवालाई बुझाइ सकेको छ।

बिजयकुमार गच्छदारले आफ्नो भागमा परेका ११ जना केन्द्रीय सदस्यमा गोपाल दहिल, महेश कोर्मचा, गणेश लामा, सुनिता चौधरी, रामजनम चौधरी, योगेन्द्र चौधरी, भरतेन्द्र मल्लिक, जितेन्द्र देवसहित ११ जनाको नाम सभापति देउवालाई बुझाएको एक नेताले डिसी नेपाललाई जानकारी दिए।

तर नाम बुझाएको लामो समयसम्म पनि पार्टीले निर्णय नगरेको र र समायोजनको काम रोकिएको भन्दै गच्छदार समूहले आपत्ति जनाउँदै आएको छ। कांग्रेसको असोज १० गते बसेको केन्द्रीय समितिको बैठकले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमति अनुसार समायोजनलाई निष्कर्षमा पुर्याउने निर्णय गरेको थियो।

उक्त बैठकले स्थानीय तहदेखि नै तत्कालीन फोरम लोकन्त्रिकसँग भएको सहमति तत्काल कार्यान्वयन गर्ने, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्रसहितका सबै तहमा नेतालाई जिम्मेवारी दिँदै केन्द्रीय सदस्यका लागि ११ जनाको नाम दिन गच्छदारलाई आग्रह गरेको थियो।

पार्टीको उक्त निर्णय पछि गच्छदारले आफ्नो भागमा परेका केन्द्रीय सदस्यको नाम बुझाइ सकेको नेता गोपाल दहितले जानकारी दिए।
आफूले ११ केन्द्रीय सदस्यको नाम बुझाइ सकेपनि पार्टीले आधिकारिक रुपमा सार्वजनिक नगरेपछि रुष्ट बनेका गच्छदार यही २७ गते बस्ने केन्द्रीय समिति बैठकमा कडा रुपमा प्रस्तुत हुने तयारी गरेका छन्।

हाल कांग्रेसको केन्द्रीय समितिको आकार ८५ सदस्यीय छ। अब गच्छदारले बुझाएकाे नामसमेतलाई जाेड्दा  कांग्रेस केन्द्रीय समिति ९६ सदस्यीय हुनेछ।

का‌ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदार समूहले बुझाएकाे नामका विषयमा पार्टीले चाँडै निर्णय गर्ने जानकारी दिए।

कांग्रेसले समायोजनलाई निष्कर्षमा पुर्याउन भन्दै उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा। महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो।

कांग्रेसले समायोजन समितिको सुझावअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा समेत समायोजनको प्रस्तावलाई ध्यान राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय गरेको थियो।

यस्तै, तत्कालीन लोकतान्त्रिक फोरमलाई महासमितिको बैठकमा सहभागी २ सय जना महासमिति सदस्यलाई सहित पर्यवेक्षकको रूपमा सहभागी १४८ जना तथा थप २५२ जनालाई महाधिवेशन प्रतिनिधि बनाउँदै कुल ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *