कमिश्नर सज्जनारको अर्को इन्काउण्टरः जब ३ अपराधीलाई बीच सडकमै गोली ठोकिदिए…

डिसी नेपाल
२० मंसिर २०७६ १३:०५

हैदराबाद। तेलंगनामा भेटेरीनरी डाक्टरलाई बलात्कार गरेर हत्या गरी शव जलाउने ४ जना अभियुक्तलाई पुलिसले इन्काउन्टरमा गोली ठोकेर मारिदियो । शुक्रबार बिहान दैदराबादमा कमिश्नर सीभी सज्जनारको नेतृत्वमा पुलिसको एक टिमले आरोपीहरुलाई लिएर घटनास्थल पुगेको थियो । पुलिसको दावी अनुसार घटनाको रिक्रिएसनका क्रममा आरोपीहरुले पुलिसको हतियार खोसेर भागेका थिए । यही क्रममा क्रस फायरिङमा उनीहरु मारिए ।

तेलंगनामा कमिश्नर सीभी सज्जनारको छवि एक इन्काउन्टर स्पेशलिस्टको रुपमा स्थापित छ । ११ वर्ष पहिले पनि उनकै अगुवाइमा एसिड आक्रमणका ३ जना अभियुक्त यसैगरी मारिएका थिए । त्यतिबेला सज्जनार एसपी थिए । यी तीन जना अभियुक्तहरुलाई उनले बीच सडकमा गोली ठोकिदिएका थिए । त्यतिबेला कलेजका विद्यार्थीहरु कैयौं दिनसम्म उनलाई भेट्न उनको घर पुगेका थिए ।

सज्जनार २००८ मा वारंगलका एसपी थिए । त्यतिबेला आरोपी एस श्रीनिवास रावले २ जना साथीहरुसँग मिलेर इन्जिनियरिङ पढिरहेकी छात्रालाई एसिड प्रहार गरेका थिए । ती छात्राले श्रीनिवासको प्रेम प्रस्ताव अस्वीकार गरेको भनेर उनले एसिड प्रहार गरेका थिए । घटनाले त्यो क्षेत्रमा निकै आक्रोश थियो । सज्जनारको नेतृत्वमा पुलिसले तीनै जना आरोपीलाई पक्राउ गर्यो । तर पक्राउ परेको केही घण्टामै तीनैजना आरोपी इन्काउन्टरमा मारिए ।

यो घटनापछि एसपी सज्जनार कलेज विद्यार्थी र त्यस क्षेत्रका युवाहरुको लागि कुनै हिरोभन्दा कम थिउनन् । यो इन्काउन्टरपछि पीडित युवतीको कलेजका छात्राहरु उनको घर गएका थिए र माला लगाएर उनको अभिनन्दन गरेका थिए । कलेजका विद्यार्थीहरुले मिठाइ बाँडेका थिए र पुलिसको समर्थनमा नारा लगाएका थिए । अहिले बलात्कारका आरोपीहरु मारिएपछि पनि घटनास्थलमा पुलिस जिन्दाबादको नारा लागेका छन् ।

सज्जनारले ११ वर्ष अगाडि पनि इन्काउन्टरको कारण अहिलेको जस्तै बताएका थिए । एसिड आक्रमणकारीलाई इन्काउन्टरमा मारेपछि वारंगल पुलिसले घटनास्थलमा सबुत जुटाउने क्रममा आरोपीहरु सिपाहीको हतियार खोसेर भागेको र प्रतिकारमा गोली चलाउँदा क्रस फायरिङमा उनीहरु मारिएको बताएको थियो । त्यतिबेला पनि मानवअधिकार कार्यकर्ताहरुले भने जनताको आक्रोश शान्त गर्न र तत्काल न्यायको लागि उनीहरुलाई सुनियोजित तरिकाले मारिएको मानेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *