घर छाडेका पुजलाल अझै फर्केनन्

डिसी नेपाल
२० मंसिर २०७६ १५:१०

रोल्पा। उनको लिवाङ आउजाउ चलिरहन्थ्यो। श्रीमतीले घर धान्ने, आफू चाहीँ मजदूरी गरेर दुई–चार पैसा कमाउने। अनि, छोराछोरी पढाउने। यस्तै, योजनाका साथ रोल्पाको जेल्वाङबाट २०३९ सालमा सदरमुकाम लिवाङ छिरेका पुजलाल बुढामगर २०५६ सालपछि पनि घर फर्कन पाएका छैनन्।

पाँच वर्ष मजदूरी काम गरे। पक्की घर बनाउने काममा दक्ष मिस्त्रीलाई सघाउँथे उनी। मिस्त्रीसँगको सङ्गतले उनलाई पनि मिस्त्री बन्ने रहर जाग्यो। विसं २०४५ मा पहिलो पटक मिस्त्री भएर काम गर्न पाए। त्यतिबेला उनको दैनिक ज्याला २० रुपैयाँ थियो। सदरमुकाममा कोठा भाडा लिएर बसेका उनले खाने बस्ने सबै त्यही पैसाले धान्थ्यो। विसं २०५२ सालदेखि सशस्त्र द्वन्द्व शुरु भयो।

मजदूरी गरेर खाने पुजलाललाई राजनीतिको उति मतलब थिएन। विसं २०५६ सम्म त गाउँमा आउजाउ भइरहेकै थियो। सदरमुकाम आउजाउ गर्नेलाई त्यतिबेला विद्रोही माओवादीले सरकारी सुराकी भन्थे।

उनलाई गाउँमै बस्न धेरैचोटि प्रस्ताव नआएको हैन तर, उनी त्यो प्रस्तावमा सहमत भएनन्। गाउँमै बस्दा २/४ पैसा देख्न पनि नपाइने र आफूले सिकेको शीपको सदुपयोग नहुने भएपछि उनी लिवाङ–जेल्वाङ आवतजावत गरिरहन चाहन्थे। विद्रोही माओवादीले भने सकेसम्म लिवाङ नजाओस्, गइहाले जेल्वाङ नफर्कोस् भन्ने चाहन्थे। यसरी चलिरहेको थियो पुजलालको दैनिकी।

विसं २०५६ मा जेल्वाङमा रहेको प्रहरी चौकी विस्थापित भयो। अब माओवादी विद्रोहीको एकछत्र राज चल्ने भयो। सरकारको उपस्थिति शून्य भए पछि पुजलाल पनि सधैंका लागि जेल्वाङ छोड्न वाध्य भए।

अहिले उनको उमेर ६० पुगिसकेको छ। मिस्त्री काम सिकेपछि सदरमुकाम लिवाङमा मात्रै उनले १०० भन्दा बढी घर निर्माण गरिसकेका छन्। साठी वर्ष पुगे पनि पुजलालको जाँगर घटेको छैन। बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म श्रीमतीसँगै मजदूरी गर्न जान्छन्।

दुःख परेका, बिरामी भएका र ठूला चाडपर्व आएका बेला बाहेक अरु समय उनलाई खाली बस्नुपरेको छैन। अहिले उनको दैनिक ज्याला ९०० रुपैयाँ छ। दुई छोरा र एउटी छोरी सदरमुकामकै बोर्डिङ स्कूलमा पढ्छन्।

आफू जीवनभर मजदूर भए पनि छोराछोरीलाई इन्जिनीयर बनाउने धोको छ उनको। “कमाएको धेरै पैसा छोराछोरीको पढाइमा खर्च गरेको छु,” पुजलालले भने – “म जस्तै मजदूर हैन प्रविधिज्ञ होऊन भन्ने चाहना छ।”

पुजलालले रोल्पा सदरमुकाम लिवाङमा काम गर्न लागेको ३७ वर्ष पूरा भइसकेको छ। यस अवधिमा उनले सदरमुकाम लिवाङमा १५ लाखमा एउटा घडेरी पनि लिएका छन्। आफू जन्मे हुर्केको गाउँ छोड्नु पर्दा उनलाई ठूलो पीडा भएको छ। गाउँमा पैतृक सम्पत्ति कति बाझै छन् त कति।

“छिमेकीले भोगचलन गरिरहेका छन्,” पुजलालले भने। सदरमुकाममा घडेरी किने पनि उनको मनमा चैन छैन। “आफ्नो सालनाल गाडिएको गाउँ जतिको प्यारो अन्त हुँदो रहेनछ,” पुजलालले भने। मर्ने बेला जन्मेकै ठाउँमा गएर प्राण त्याग गर्न पाइयोस् भन्ने उनको धोको छ।

पुजलालका अनुसार उनको गाउँसँगको सम्बन्ध टुटाइदिने दश वर्षे सशस्त्र द्वन्द्व नै हो । उनी जस्तै थुप्रै नागरिक आन्तरिक विस्थापन भएर आफ्नो थातथलो नै छोड्न वाध्य भएका छन्।

रोल्पामा मात्रै आन्तरिक रुपमा विस्थापित भएर अहिलेसम्म घर फिर्ता नहुनेको सङ्ख्या १०० भन्दा बढी रहेको द्वन्द्वपीडित सरोकार मञ्च रोल्पाका पूर्व अध्यक्ष पूर्णे पुनमगरको भनाइ छ। थातथलो छोडेको वर्षौ भएका उनीहरुलाई पुनःस्थापनाका लागि राज्यबाट सहयोग नभएको आरोप लगाइने गरेको छ।

द्वन्द्वका कारण दशौं वर्ष छाडेको घर भग्नावशेष भइसकेको छ। ती नागरिकको घर फिर्ती अब चुनौतीको विषय बनेको अध्यक्ष पुनमगर बताउँछन्। “द्वन्द्वका कारण विस्थापित भएकाहरु अहिले पनि सदरमुकाम लिवाङ, काठमाडौँ, पोखरा जस्ता ठाउँमा मजदूरी गरेर बस्न वाध्य छन्,” पुनले भने।

दश वर्षे सशस्त्र युद्धमा रोल्पाको जेल्वाङमा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने युद्धको समयमा एकै गाउँबाट ७३ जनाले ज्यान गुमाएका थिए। विद्रोही माओवादी पक्षबाट दश जना र राज्यपक्षबाट ६३ जना जेल्वाङीवासीको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *