बलात्कारीले जेलबाट निस्केर जिउँदै जलाइदिएकी पीडितले अस्पतालमा प्राण त्यागिन्
काठमाडौं। बलात्कारीले जेलबाट निस्केर जिउँदै पेट्रोल खन्याएर आगो लगाइदिएकी पीडितले गएराती अस्पतालमा प्राण त्यागेकी छिन् । भारतको उत्तर प्रदेशको उन्नावकी ती युवतीलाई गएको मार्चमा सामूहिक बलात्कार गरिएकोमा जेलमा परेका बलात्कारी अहिले जमानतमा छुटेपछि साथीहरुसँग मिलेर पेट्रोल खन्याएर आगो लगाइदिएका थिए । उनले गएराती ११ बजेर ४० मिनेटमा नयाँ दिल्लीको सफदरगंज अस्पतालमा प्राण त्यागेकी हुन् ।
पीडितलाई ९५ प्रतिशत जलेको अवस्थामा शुक्रबार नयाँ दिल्ली लगिएको थियो । बिहीबार बिहान ५ जना आरोपीले उनलाई पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो लगाउनेमध्ये एकजना पीडितलाई सामूहिक बलात्कार गर्ने मुख्य आरोपी हुन् । आफ्ना अपराधीहरुलाई फाँसीको फन्दामा पुगेको देख्ने पीडितको इच्छा अधुरै रहेको छ । उनले अन्तिम पटक आफ्नो यो इच्छा अधुरै रहेको बताएर सदाका लागि अस्ताइन् ।
सफदरगंज अस्पतालको बर्न एण्ड प्यालस्टिक सर्जरी विभागका प्रमुख डा. शलभ कुमारले भारतीय मिडिया आज तकसँग भने ‘हाम्रो ठूलो प्रयासका बावजुद पीडितलाई बचाउन सकिएन । साँझ नै उनको हालत बिग्रिन सुरु भएको थियो । राती ११ बजेर १० मिनेटमा उनलाई कार्डिएक एरेस्ट भयो । हामीले उपचार सुरु गरेर उनलाई बचाउने पूरा प्रयास गर्यौं तर राती ११ बजेर ४० मिनेटमा उनको मृत्यु भयो ।’
सामान्यतया ९५ प्रतिशत जलेपछि कोही पनि केही बताउने हालतमा हुँदैन तर यी बहादुर युवती आफ्ना गम्भीर घाउसँग लडिरहेकी थिइन् । उनलाई अस्पतालबाट निस्केर न्यायको लडाइँ लड्नु थियो । पीडितका दाजुले भने ‘उनी बाँच्न चाहन्थिन्, लड्न चाहन्थिन्, न्यायको लडाइ जित्न चाहन्थिन् । त्यसैले पटक पटक म बाँच्छु नि, म मर्न त मर्दिन भनेर सोधिरहेकी थिइन् ।’ बहिनीको कुरा मिडियासँग बताउँदा बताउँदै दाजुको गला अवरुद्ध भयो ।
Facebook Comment