न्यायमाथि यक्षप्रश्नः मारेर जलाउनेलाई इन्काउन्टर, जिउँदै जलाएर मार्नेलाई छुट ?

डिसी नेपाल
२१ मंसिर २०७६ ९:३६

काठमाडौं। भारतमा एक हप्ताको अन्तरालमा दुई निकै जघन्य अपराध भए । पहिलो घटना हैदराबादमा भएको थियो । हैदराबादमा गएको नोभेम्बर २७ तारिखमा महिला भेटेरीनरी डाक्टरलाई बलात्कारपछि हत्या गरी उनको शव जलाइयो । यो घटनाको विरोधमा सिंगो देशमा प्रदर्शन भयो । देशैभरी बलात्कारीको विरोधमा आक्रोश फैलियो । मानिसहरुले ती बलात्कारीलाई बिना सुनुवाइ फाँसीको सजाय दिन माग गर्दै प्रदर्शन गरे । पुलिसले तत्कालै आरोपीहरुलाई पक्राउ गर्यो । अनुसन्धानको लागि पुलिस हिरासतमा रहेका ती आरोपीहरु हिजो शुक्रबार बिहान पुलिस इन्काउन्टरमा मारिए ।

पुलिसले आरोपीहरु भाग्न खोज्दा इन्काउन्टर गर्नुपरेको दावी गरेको छ । पुलिसकै हतियार खोसेर पुलिसमाथि नै आक्रमण गरेपछि उनीहरुमाथि गोली चलाउनुपरेको पुलिसको दावी छ । तर, हैदराबादका पुलिस कमिश्नर भीसी सज्जनारको विगत, उनले त्यहाँ बनेको छविलाई हेर्दा भने पुलिसले आम जनताको आक्रोश शान्त गर्दै तत्कालै न्याय दिनको लागि जानीजानी उनीहरुलाई गोली ठोकिदिएको धेरैको अनुमान छ । यस विषयमा थप अनुसन्धान गरी इन्काउन्टर गर्नैपर्ने अवस्था थियो वा थिएन भन्ने जाँच हुने अनुमान गरिएको छ ।

कमिश्नर सज्जनारले यसअघि पनि एसिड आक्रमणकारी ३ जना अभियुक्तलाई पक्राउ गरेको केही घण्टामै इन्काउन्टरमा मारिदिएका थिए । त्यतिबेला पनि आम नागरिकमा आक्रोश थियो र निकै ठूलो मात्रामा प्रदर्शन भइरहेको थियो । त्यतिबेला एसपी रहेका सज्जनारले उतिबेला इन्काउन्टर गर्नुपर्ने कारण जे बताएका थिए अहिले पनि त्यही बताएका छन् ।

उतिबेला पनि ‘सिन रिक्रिएट’ गर्न जाँदा पुलिसको हतियार खोसेर आरोपी भागेपछि गोली चलाउनुपरेको बताएका सज्जनारले अहिले पनि त्यही बताएका छन् । घटनामा यतिसम्म समानता छ कि उतिबेला ३ जना आरोपीलाई घटनास्थलमै लगेर गोली ठोकिदिएका सज्जनारले अहिले पनि चारैजना आरोपीलाई घटनास्थलमै पुर्याएर गोली ठोकिदिएका छन् ।

कमिश्नर सज्जनारले ४ जना आरोपीलाई गोली ठोकिदिएपछि घटनास्थलमा आम जनताले फुल बर्साए, पुलिसको जयजयकार गरे र पुलिसकर्मीलाई काँधमा बोकेर खुसी मनाए । यससँगै शुक्रबार दिउँसो उत्तर प्रदेशका केही नेताहरुले युपी पुलिसले पनि तेलंगना पुलिसको सिको गर्नुपर्ने अभिव्यक्ति दिए । यही बीचमा हैदराबादका आरोपीको इन्काउन्टर भएकै दिन राती उत्तर प्रदेशको उन्नावमा बलात्कारीले जिउँदै जलाइदिएकी पीडितले अस्पतालमा प्राण त्यागिन् ।

यतिबेला सबैको नजर उत्तर प्रदेशको यो घटनामा केन्द्रित छ । घटनाक्रम हेर्दा हैदराबादको घटना जति जघन्य अपराधको श्रेणीमा आउँछ उत्तर प्रदेशको घटना त्योभन्दा कम जघन्य मान्न कुनै हालतमा सकिँदैन बरु यसलाई अझै क्रुर घटना मान्नुपर्ने हुन्छ किनकि यहाँ बलात्कारीले पीडितलाई जिउँदै जलाइदिएका थिए । तर, गएको मार्चमै भएको घटनामा सुरुमा पुलिसले पीडितको किटानी जाहेरी लिन आनाकानी गरेको थियो । ठूलो दबाबपछि उजुरी लिए पनि एक जना मात्र आरोपीलाई पक्राउ गरेर अन्य आरोपीलाई पक्राउ नै नगरी बसेको थियो ।

पक्राउ गरेका आरोपीविरुद्ध पनि कमजोर केस बनाएका कारण उनी जमानतमा छुटेका थिए । बलात्कारका मुख्य आरोपी जमानतमा छुटेसँगै उनले बिहीबार बिहान पीडितलाई जिउँदै जलाएर आफूविरुद्धको प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए । जलाइएकी पीडितले प्राण त्यागिसकिन् तर पीडकविरुद्ध पुलिसको कारवाही अझै फितलो देखिएको छ । एक दिन अघिमात्र अदालतले फाँसीको सजाय दिनुपर्ने माग उठिरहेका अभियुक्तलाई पुलिसले गोली ठोकिदिएको देखेका नागरिकले अहिले उन्नाव पीडितको विषयमा पुलिसले के गर्छ भनेर हेरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *