जिउँदै जलाएर मारिएकी रेप पीडित युवतीको परिवारलाई सरकारले४० लाख दिने
नयाँ दिल्ली (एजेन्सी) । भारतमा बलात्कारीले जेलबाट निस्केर जिउँदै पेट्रोल खन्याएर आगो लगाइदिएकी पीडितले शुक्रबार राती अस्पतालमा प्राण त्यागेकी छिन् । भारतको उत्तरप्रदेश सरकारले मृतकको परिवारलाई मुआब्जा वापत २५ लाख भारु (नेपाली ४० लाख) दिने भएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडित परिवारलाई २५ लाख भारु र एक घर दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतको उत्तर प्रदेशको उन्नावकी ती युवतीलाई गएको मार्चमा सामूहिक बलात्कार गरिएकोमा जेलमा परेका बलात्कारी अहिले जमानतमा छुटेपछि साथीहरुसँग मिलेर पेट्रोल खन्याएर आगो लगाइदिएका थिए । उनले शुक्रबार राती भारतीय समयअनुसार ११ बजेर ४० मिनेटमा नयाँ दिल्लीको सफदरगंज अस्पतालमा प्राण त्यागेकी हुन् ।
पीडितलाई ९५ प्रतिशत जलेको अवस्थामा शुक्रबार नयाँ दिल्ली लगिएको थियो । बिहीबार बिहान ५ जना आरोपीले उनलाई पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो लगाउनेमध्ये एकजना पीडितलाई सामूहिक बलात्कार गर्ने मुख्य आरोपी हुन् ।
आफ्ना अपराधीहरुलाई फाँसीको फन्दामा पुगेको देख्ने पीडितको इच्छा अधुरै रहेको छ । उनले अन्तिम पटक आफ्नो यो इच्छा अधुरै रहेको बताएर सदाका लागि अस्ताइन् । सफदरगंज अस्पतालको बर्न एण्ड प्यालस्टिक सर्जरी विभागका प्रमुख डा. शलभ कुमारले भारतीय मिडिया आज तकसँग भनेका छन्, ‘हाम्रो ठूलो प्रयासका बावजुद पीडितलाई बचाउन सकिएन । साँझ नै उनको हालत बिग्रिन सुरु भएको थियो । राती ११ बजेर १० मिनेटमा उनलाई कार्डिएक एरेस्ट भयो । हामीले उपचार सुरु गरेर उनलाई बचाउने पूरा प्रयास गर्यौं तर राती ११ बजेर ४० मिनेटमा उनको मृत्यु भयो ।’
सामान्यतया ९५ प्रतिशत जलेपछि कोही पनि केही बताउने हालतमा हुँदैन तर यी बहादुर युवती आफ्ना गम्भीर घाउसँग लडिरहेकी थिइन् । उनलाई अस्पतालबाट निस्केर न्यायको लडाइँ लड्नु थियो । पीडितका दाजुले भने ‘उनी बाँच्न चाहन्थिन्, लड्न चाहन्थिन्, न्यायको लडाइ जित्न चाहन्थिन् । त्यसैले पटक पटक म बाँच्छु नि, म मर्न त मर्दिन भनेर सोधिरहेकी थिइन् ।’ बहिनीको कुरा मिडियासँग बताउँदा बताउँदै दाजुको गला अवरुद्ध भयो ।
भारतकै हैदरवादमा गएको हप्ता एकजना पशुचिकित्सक युवतको बलात्कारपछि जलाएर हत्या गरिएको थियो । सो काण्डका ४ जना आरोपीलाई प्रहरीले शुक्रबार ‘मुठभेड’ मारिदिएको थियो । प्रहरीको सो मुठभेड दावीका आरोपीका परिवारजनले विरोध जनाएका छन् ।
प्रहरीको मुठभेडामा मारिएका एकजनाकी श्रीमतीले आफुलाई पनि सोही स्थानमा लगेर मारिदिन भेनकी छन् । उनी ७ महिनाकी गर्भवती रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीको मुठभेडप्रति भारतमा पक्षर विपक्षमा विचारहरु विभाजित भएका छन् । कतिपयले दोषीलाई कडा सजाय हुनुपर्ने भए पनि ती सबै न्यायीक प्रक्रियाअनुसार अदालतको आदेश अनुसार हुनुपर्नेमा प्रहरीले मारिदिएको भन्दै प्रहरीको कदमको विरोध गरेका छन् । तर, कतिपयले भने ‘अन द स्पट’ न्याय भन्दै प्रहरीको समर्थन गरेका छन् ।
Facebook Comment