हैदराबाद बलात्कारः ती एक जना मान्छे जसले पुलिसलाई अपराधीसम्म पुर्‍याए

डिसी नेपाल
२२ मंसिर २०७६ ९:००

हैदराबाद। तेलंगनाको हैदराबादमा महिला डाक्टरलाई सामूहिक बलात्कारपछि हत्या गरी शव जलाउने आरोपीहरुको सिसिटिभी फुटेज पुलिसलाई उपलब्ध गराउने र जानकारी दिने त्यो एक व्यक्तिको जानकारी खुलेको छ जसको सहयोगले हैदराबाद पुलिस अपराधीहरुसम्म पुगेको थियो । यी व्यक्तिले नै पुलिसलाई आरोपीहरुको बारेमा जानकारी दिएका थिए । यसका साथै उनै व्यक्तिले पुलिसलाई सीसीटिभी फुटेज उपलब्ध गराएका थिए । सीसीटिभी फुटेजमा आरोपीहरु शव जलाउनको लागि पेट्रोल पम्पमा पेट्रोल किन्दै गरेका देखिएका छन् । पुलिस यही फुटेजका आधारमा अपराधीहरुसम्म पुगेको थियो ।

डाक्६रको शव जलाइएको घटनास्थल नजिकै रहेको पेट्रोल पम्पका कर्मचारीले भारतीय मिडिया आज तकलाई बताए अनुसार घटनाको रात करिब १ बजे आरोपी जोलु शिवा पेट्रोल पम्पमा पेट्रोल किन्न आएका थिए । आरोपी शिवाको हातमा २ लिटरको खाली बोतल थियो । यद्यपि पेट्रोल पम्पका कर्मचारीले उनलाई खुल्ला पेट्रोल दिन अस्वीकार गरेका थिए । त्यसपछि आरोपी पेट्रोल पम्पबाट गएका थिए । यस क्रममा पेट्रोल पम्पका ती कर्मचारीलाई शंका भयो । त्यसपछि उनले आरोपी जोलु शिवा र उनका साथीहरुको चुपचाप पिछा गरे । ती कर्मचारीका अनुसार उनले आरोपीलाई पेट्रोल नदिएपछि उनीहरुले अगाडि गएर अर्को पेट्रोल पम्पबाट पेट्रोल किनेका थिए ।

शिवालाई पेट्रोल नदिने पेट्रोल पम्पमा जडान गरिएको सिसिटिभी क्यामेरामा आरोपी शिवाको तस्वीर कैद भएको थियो । पुलिसले आरोपीको पहिलो सुराग यहीँबाट पाएको थियो । पेट्रोल दिन अस्वीकार गर्ने पेट्रोल पम्पका कर्मचारीले नै १०० नम्बरमा फोन गरेर पुलिसलाई आरोपीको जानकारी दिएका थिए । पुलिसले पेट्रोल पम्पका कर्मचारीले बताएको हुलियाअनुसार आरोपी जोलु शिवाको स्केच पनि बनायो । पुलिसले अनुसन्धानको क्रममा यिनै कर्मचारीलाई आफ्नो साथमा राखेको थियो । यिनै कर्मचारीले आरोपीहरुलाई पक्राउ गरिएपछि उनीहरुको पहिचान गरेका थिए ।

ती चारैजना अभियुक्त पुलिससँगको मुठभेडमा मारिइसकेका छन् । चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्काउन्टर गरिदिएको हो । हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो ।

यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो । पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जेलमा राखेको थियो । जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए । त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरोपीहरुलाई हैदराबाद जेल ल्याइएको थियो । चारैजना आरोपीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *