हैदराबाद बलात्कारः इन्काउन्टरमा मारिएका चारैजनाको लाश परिवारले लिन मानेनन्
हैदराबाद। भारतको तेलंगना राज्यको हैदराबादमा महिला डाक्टरलाई बलात्कार गरी हत्या गर्ने चारै जना अभियुक्तको शव लिन उनीहरुका परिवारले अस्वीकार गरेका छन् । शुक्रबार बिहान पुलिस इन्काउन्टरमा चारैजना अभियुक्त मारिएका थिए । अभियुक्तहरु इन्काउन्टरमा मारिएपछि पुलिसले उनीहरुको शव उनीहरुको परिवारलाई दिने तयारी गरेको थियो तर चारैजनाका परिवारले शव लिन अस्वीकार गरेका छन् ।
पुलिसले ती चारैजना अभियुक्तलाई त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको थियो जहाँ उनीहरुले महिला डाक्टरलाई बलात्कार गरी उनको हत्या गरेका थिए । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्काउन्टर गरिदिएको हो । हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो ।
यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो । पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जेलमा राखेको थियो । जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए । त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरोपीहरुलाई हैदराबाद जेल ल्याइएको थियो । चारैजना आरोपीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो ।
Facebook Comment