हैदराबाद इन्काउन्टरः पुलिसको दावीमाथि उठेका ५ गम्भीर प्रश्न
हैदराबाद। हैदराबादमा महिला डाक्टरलाई बलात्कार गरी हत्या गरेको अभियोग लागेका ४ जना अभियुक्तलाई स्थानीय पुलिसले मुठभेडमा गोली हानी हत्या गरेको थियो जसलाई धेरैले वीरतापूर्ण भन्दै प्रशंशा गरेका थिए । तर, यस्ता मानिसहरुको संख्या पनि कम छैन जसले यो कथित इन्काउन्टरमाथि प्रश्न उठाइरहेका छन् र यसको निष्पक्ष जाँचको माग गरिरहेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले यो घटनाको संज्ञान लिँदै एक टिमलाई जाँचको निर्देश दिइसकेको छ । जसको नेतृत्व एक एसएसपी स्तरका अधिकारीले गर्नेछन् र छिटै आयोगलाई आफ्नो रिपोर्ट सुम्पिनेछन् ।
अर्कोतर्फ तेलंगना हाइकोर्टले राज्य सरकारलाई आदेश दिएको छ कि चारै जना अभियुक्तको शव ९ डिसेम्बर साँझ ८ बजेसम्म सुरक्षित राख्नु र उनीहरुको पोष्टमार्टमको भिडियो अदालतमा बुझाउनु । यही बीच मारिएका अभियुक्तका परिवारले अदालतमा मुद्दा चलाइनुभन्दा पहिल्यै पुलिसले उनीहरुलाई मुठभेडमा मार्नुको विषयमा प्रश्न उठाएका छन् र भनेका छन् कि पुलिसको कहानीमा उनीहरुलाई विश्वास छैन ।
साइबराबादका कमिश्नर भीसी सज्जनारले यसबारे शुक्रबार पत्रकार सम्मेलनमा दिएको विवरणमा मानिसहरु किन विश्वास गरिरहेका छैनन् ? पुलिसको कहानीका कुन कुन विषयमा प्रश्न उठिरहेका छन् ? यस विषयमा बुझ्नको लागि बीबीसीले उत्तर प्रदेश पुलिस र केन्द्रीय रिजर्भ पुलिस बलका पूर्व महानिर्देशक प्रकाश सिंह, दिल्लीका पूर्व पुलिस उपायुक्त म्याक्सवेल परेर र तेलंगनाका बरिष्ठ पत्रकार एन वेणुगोपाल रावसँग कुरा गरेको छ ।
१. इन्काउन्टरको समय
पुलिस कमिश्नर भीसी सज्जनारले दावी गरेका थिए कि पुलिस र अभियुक्तको मुठभेड बिहान पौने ६ बजेदेखि वा ६ बजेको बीचमा भयो । यसअघि उनकै विभागका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बीबीसीलाई राती करिब ४ बजे पुलिस चारै जना अभियुक्तलाई लिएर घटनास्थलतर्फ गएको बताएका थिए । सज्जनारले भनेका थिए ‘अभियुक्तहरुलाई यति बिहान यसकारण जैलानुपर्यो किनकि उनीहरुको सुरक्षाको खतरा थियो । मानिसहरुमा उनीहरुप्रति आक्रोश थियो । गिरफ्तारीपछि नै अभियुक्तहरुलाई धम्की आइरहेको थियो ।’
तर, पुलिस कमिश्नरको यो तर्कमा म्याक्सवेल परेर सहमत छैनन् । उनले बीबीसीसँग भने ‘यो तर्क विश्वसनीय लाग्दैन किनकि पुलिस दिनको उज्यालोमा निकै आरामसँग यो काम गर्न सक्थ्यो । उनीहरुले अतिरिक्त पुलिस बलको साथमा इलाकालाई घेराबन्दी गर्न सक्थे । अनि ‘मानिसहरुको डर’ भन्नमा सज्जनारको के मतलब हो ? के उनी यो मानिरहेका छन् कि भीड पुलिसको उपस्थितिमा पनि उनीहरुलाई मार्न सक्छ ?’
उता प्रकाश सिंहले आफ्नो समयका केही मुठभेड र पुलिस छापामारीका घटनाहरुको उल्लेख गर्दै भने ‘अँध्यारोमा वा बिहान झिसमिसैमा पुलिसको एउटै लक्ष्य हुन्छ कि उनीहरु अपराधीलाई रंगेहात पक्रन चाहन्छन् । तर यहाँ कसैलाई पक्रनु त थिएन, अनि त्यही समय किन रोजियो ? किनकि सिन रिक्रिएट गर्ने काम त दिनमा निकै आरामसँग हुन सक्थ्यो । यतिमात्र होइन दिनमा अझै राम्रो तरिकाले हुन सक्थ्यो ।’
बरिष्ठ पत्रकार एन वेणुगोपाल राव सिन रिक्रिएट गर्ने पुलिसको तर्कलाई नै अनावश्यक मान्छन् । उनी भन्छन् ‘पुलिसले भन्यो कि ती ४ जना अभियुत्तः हुन् र जनताले पुलिसको कुरामा विश्वास गरे । यसको कुनै न्यायिक जाँच भएन । पुलिसले एक हप्ता अगाडि प्रेस रिलिज जारी गरेर चारै जनाले अपराध स्वीकार गरेको दावी गरेको थियो । पुलिसले त यो पनि दावी गरेको थियो कि आरोपीले क्यामेरामा पूरै विवरण बताएका छन् । जब चारैजनाले लिखित रुपमा आफ्नो अपराध स्वीकार गरिसकेका थिए भने उनीहरुलाई घटनास्थलमा लगेर यो जाँच किन भइरहेको थियो ? त्यो पनि अँध्यारोमा ।’
२. पुलिसको तयारी
पुलिसले मोहम्मद उर्फ आरिफ, जोलु नवीन, चेन्न केशवल्लु र जोलु शिवा, २० देखि २४ वर्ष आयुका ४ अभियुक्तलाई २९–३० नोभेम्बरको रातमा गिरफ्तार गरेको थियो । त्यसपछि उनीहरुलाई चेल्लापली मजिस्ट्रेटको अगाडि पेश गरिएको थियो । पुलिस कमिश्नर सज्जनारका अनुसार २ डिसेम्बरमा साइबराबाद पुलिसले शादनगर अदालतमा याचिका दायर गरेर चारै अभियुक्तको कस्टडी मागेको थियो ।
४ डिसेम्बरमा उनीहरुलाई पुलिस कस्टडीमा पठाइयो । ४–५ डिसेम्बर २ दिन उनीहरुसँग सोधपुछ गरियो । सज्जनारले दावी गरे ‘सोधपुछका क्रममा उनहिरुले पीडितको फोन, घडी र पावर बैंक उनीहरुले अपराधको स्थानमा लुकाएका थिए । हामी त्यही खोज्न घटनास्थल आएका थियौं । १० पुलिसकर्मीको एक टिमले अभियुक्तहरुलाई घेरेको थियो र चारैजना अभियुक्तको हाल खुल्ला थिए ।’
पुलिसकर्मीको अधिकारका विषयमा खुलेर कुरा गर्ने म्याक्सवेल परेर शीर्ष अदालतको एक आदेशलाई अव्यवहारिक बताउँदै भन्छन् ‘सर्वोच्च अदालतले पुलिसलाई बिना न्यायिक अनुमति अभियुक्तको हातमा हथकडी नलगाउन आदेश दिएको छ । पूरै संसारमा कुनै अन्य देशमा यस्तो आदेश छैन । यस दृष्टिले हेर्दा भारतमा अभियुक्तलाई कथित रुपमा अधिक मानवअधिकार प्राप्त छ जो केही घटनामा पुलिसको लागि समस्या बन्छन् । अदालत भन्छ कि पुलिसकर्मी अभियुक्तको हात समातेर हिँडुन् उनीहरुलाई हथकडी नलगाउन् । तेलंगना पुलिस आफ्नो बचाउमा यही आदेशको हवाला दिनेछ । तर अदालतले केही विशेष परिस्थितिमा पुलिस जाँच अधिकारीलाई कैयौं महत्वपूर्ण अधिकार दिएको छ र यो केसमा ती अधिकारको प्रयोग गर्ने इच्छाशक्ति देखिँदैन ।’
प्रकाश सिंह अदालतको त्यही आदेशको हवाला दिँदै भन्छन् ‘यस्तो अवस्थामा जाँच अधिकारीले नेतृत्व गर्छ । उसले सबैथोक रेकर्ड गर्छ । यदि उसले अभियुक्तलाई हथकडी लगाउन चाहन्छ, किनकि पुलिस बल कम छ वा अभियुक्त पुलिसमाथि भारी पर्न सक्छन्, भने यस्तो परिस्थितिमा जाँच अधिकारी अभियुक्तको हात बाँध्ने निर्णय लिन सक्छ । यसको लागि उसले बरिष्ठ अधिकारीसँग जायज कारण बताएर अनुमति लिनु पर्छ र डायरीमा यसलाई उल्लेख गर्नु पर्छ । यो केसमा पुलिससँग सबै कारण थिए । अभियुक्तहरुमाथि सामूहिक बलात्कार र हत्याको आरोप थियो । उनीहरुको हात बाँध्न सकिन्थ्यो । तर अदालतको आदेशको मूल भावना नबुझी तेलंगना पुलिसले यस्तो किन हुन दियो ? यसको जवाफ उनीहरुले जाँचमा दिनुपर्छ । कमिश्नरको बयानबा यो प्रस्ट हुन्छ कि अभियुक्तमाथि भौतिक दबाब बनाइराख्नको लागि पुलिसको जति तयारी हुनुपर्थ्यो त्यो थिएन । यस्तोमा गोली हान्नुपर्ने स्थिति आयो, यसको जिम्मेवार को हो ?’
३. मुठभेडको दावी
म्याक्सवेल परेर पुलिस कमिश्नर सज्जनारको ‘चारैजना अभियुक्तले डण्डा र ढुंगाले पुलिसमाथि हमला गरे र २ पुलिसकर्मीको हतियार खोसे जसका कारण पुलिसले जवाफी कारवाही गर्नुपर्यो भन्ने’ दावीलाई पनि संदिग्ध मान्छन् । उनी भन्छन् ‘पुलिस हिरासतमा रहेका अभियुक्तहरुले ढुंगा र डण्डा कहाँबाट पाए ? चार अभियुक्तमाथि १० पुलिसकर्मी कुनै कम संख्या होइन जो उनीहरुको हतियार खोसियोस् । यदि यस्तो भएकै भए, जसलाई पुलिसले आफ्नो कहानीमा मानेको पछि छ, सिनियर अधिकारीमाथि यसलाई लिएर गम्भीर प्रश्न उठ्छन् ।’
प्रकाश सिंह पनि दुई अभियुक्तले पुलिससँग हतियार खोसे होलान् भन्ने कुरा पचाउन सकिरहेका छेनन् । उनी भन्छन् ‘उनीहरु पुलिसकर्मी हुन् कि तमाशा ? कसरी २० वर्षका केटाहरु तपाइँसँग पेस्तोल खोस्न सक्छन् ? यस्तो कुनै ड्युटीमा त अतिरिक्त सावधानी अपनाउनुपर्छ । पुलिसले ती केटाहरुले पेस्तोल खोसेपछि कति राउण्ड फायर गरे भन्ने किन बताएन ?
वेणुगोपाल भने यस सम्बन्धमा अर्कै दृष्टिले कुरा गछृन् । उनी भन्छन् ‘उनीहरु अपराधी थिए यसमा कुनै शंका छैन । तर चारैजना अभियुक्त निकै तनाबमा थिए । उनीहरुको उमेर २० को आसपास थियो । केही रिपोर्टमा दावी गरिएअनुसार उनीहरुलाई जेलमा खाना दिइएको थिएन । जुन ब्यारेकमा उनीहरुलाई राखिएको थियो त्यहाँ अन्य कैदहिरुले उनहिरुलाई कुटे । मानिसहरु भनिरहेका थिए कि उनीहरुले वकिल पाउनु हुँदैन । २ दिनदेखि उनीहरु न्यायिक हिरासतमा थिए । यस्तोमा यो निकै असम्भव लाग्छ कि यी ४ ले १० हतियारबन्द पुलिसको अगाडि कुनै हर्कत गरे होलान् । चारै जना अभियुक्तलाई यो पक्कै थाहा थियो होला कि उनीहरु पुलिससँग बचेर भागे पनि भीडले उनीहरुलाई जिउँदै जलाउनेछ । यस्तोमा उनहिरु पुलिससँग बच्ने कोसिस नै किन गर्छन् ?’
४. घाइते पुलिसकर्मी
कमिश्नर भीसी सज्जनारले पत्रकार सम्मेलनमा दावी गरे कि चारैजना अभियुक्तलाई मार्न पुलिसलाई करिब १० मिनेट लाग्यो । अर्थात खुला मैदानमा यस दौरान पुलिस र अभियुक्तबीच क्रस फायर भइरह्यो । जसको अन्त्य यो भयो कि चारैजना अभियुक्तको गोली लागेर मृत्यु भयो तर एक जना पनि पुलिसकर्मीलाई गोलीले छोएन । पुलिस कमिश्नरका अनुसार यो मुठभेडमा २ पुलिसकर्मी घाइते भए जसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको टाउकोमा चोट छ जो डण्डा वा ढुंगाको कारण लागेको हुन सक्छ ।
दिल्लीका पुलिस उपायुक्त म्याक्सवेल परेरा भन्छन् ‘पुलिस कमिश्नरको यो बयान निकै लज्जाजनक छ र गैर पेशेवर छ । यो बिल्कुल युपी स्टाइल हो । जब म दिल्ली पुलिसमा थिएँ त्यतिबेला युपीका अपराधी दिल्लीमा आएर आत्मसमर्पण गर्थे किनकि उनीहरुलाई लाग्थ्यो कि युपी पुलिस आत्मसमर्पण गर्दा पनि उनहिरुलाई गोली हानिदिन्छ । देशको कानुन अपराधीलाई पनि आफ्नो दलील दिने अधिकार दिन्छ र यसबाट उनीहरुलाई बञ्चित गर्न सकिँदैन ।’ प्रकाश सिंहका अनुसार अब सर्वोच्च अदालतको गाइडलाइन अनुसार यसको जाँच हुनेछ, त्यसपछि मात्र कहानी स्पष्ट हुनेछ किनकि सुन्दा पुलिस कमिश्नरको यो कहानी थोत्रो लाग्छ ।
५. हरेक पटक उस्तै कहानी कसरी ?
तेलंगनाका बरिष्ठ पत्रकार एक वेणुगोपाल राव राज्यको इतिहासको हवाला दिँदै पुलिसको कहानीमा प्रश्न उठाउँछन् । उनी भन्छन् कि पुलिसको कहानीमा यति धेरै समानता कसरी हुन्छ ? उनी भन्छन् ‘तेलंगना पुलिस (पहिले आन्ध्र प्रदेश पुलिस) को यस्ता कहानी सुनाउने इतिहास रहेको छ । उनीहरु यसमा बहुत निपुण छन् । १९६९ पछि उनीहरु इन्काउन्टरका यस्ता संदिग्ध कहानी सुनाइरहेका छन् । यस प्रकारका मुठभेडको सुरुवात नक्सलीहरुविरुद्ध भएको थियो जसमा नागरिक समाजले कहिल्यै प्रश्न उठाएन । तर २००८–०९ पछि पुलिसले यो रणनीति आम रुपमा प्रयोग गर्न सुरु गर्यो ।’
‘जब तेलंगनाको निर्माण भयो र यस क्षेत्रमा तेलंगना आन्दोलन चलिरहेको थियो त्यतिबेला चन्द्रशेखर राव समेत अन्य टिआरएस नेताहरुले यहाँको पुलिसमाथि आरोप लगाएका थिए कि आन्दोलन दबाउनको लागि पुलिस गलत तरिका अपनाइरहेको छ । तर जब उनी शक्तिमा आए उनको सरकारमा पुलिसले नालगोण्डा जिल्लामा ४ कथित मुस्लिम चरमपन्थहिरुलाई वारंगल जेलबाट हैदराबाद अदालतको बाटोमा गोली हानेर मार्यो र पुलिसले बिल्कुल यही कहानी सुनायो । यो २०१४ को घटना हो ।’
‘तर यो कहानी १९६९ बाट सुरु हुन्छ । त्यतिबेला आन्ध्र प्रदेशमा पहिले इन्काउन्टर भएको थियो । आन्ध्र पुलिसले कलकत्ताबाट आइरहेका सीपीआइ (एमएल)का ७ दस्यलाई रेलवे स्टेशनमा ओर्लिनासाथ गिरफ्तार गर्यो र पछि उनीहरुलाई गोली हानिदियो । त्यस वर्ष पुलिसले इन्काउन्टरको जो कहानी सुनाएको थियो त्यो कहानी आजसम्म जस्ताको तस्तै छ । बस पात्र, मिति र ठाउँ पटक पटक फेरिन्छन् ।’
हैदराबाद डाक्टर बलात्कार केसको उल्लेख गर्दै एन वेणुगोपाल रावले भने कि डिसेम्बर २००७ मा साइबराबादका पुलिस कमिश्नर र १९९६ ब्याचका आइपीएस अधिकारी भीसी सज्जनारले वारंगल जिल्लामा एसिड आक्रमणका तीन अभियुक्तलाई पुलिस हिरातमा यस्तै गरी घटनास्थलमा लगेर गोली ठोकिदिएका थिए । यसपटक हैदराबाद केसपछि हामीले देख्यौं कि मानिसहरुले सामाजिक संजालमा वारंगल को कहानी लेखेर सज्जनारलाई चुनौती दिए र भने कि उनी अब त्यस्तो किन गर्दैनन् ?
उनी भन्छन् ९० को दशकमा चन्द्रबाबु नायडु जब सत्तामा आए त्यसपछि यस्ता इन्काउन्टर गर्ने पुलिस अधिकारीहरुलाई प्रमोशन दिन थालियो । तर के आजसम्म कहिल्यै इन्काउन्टर केसको जाँचपछि पुलिसलाई दोषी पाइयो ? यसको जवाफमा वेणुगोपालले भने ‘१९८७–८८ मा एक मजिस्ट्रेटले आफ्नो जाँचमा पाएका थिए कि पुलिस अधिकारीको तर्क आधारहीन छन् र उनलाई सजाय दिइनुपर्छ । त्यो घटनाको अन्त्य यो भयो कि ती मजिस्ट्रेटको सरुवा गरियो । त्यसैले सरकार पुलिसको विरुद्ध जान्छ वा निष्पक्ष जाँचमा सहयोग गर्छ, यो आशा कम देखिन्छ । विगत २ हप्तामा तेलंगना राज्यमा हैदराबाद ग्याङरेप मर्डर जस्ता तीन अन्य केस भएका छन् । तर अन्य २ युवती (एक वारंगल र अर्को आदिलाबाद) दलित हुन् त्यसैले उनीहरुक विषयमा धेरै चर्चा भएन । र, यो पनि आफैंमा ठूलो प्रश्न हो ।
Facebook Comment