नेविसङ्घको नेतृत्व तत्काल ल्याउन माग

काठमाडौं । नेपाली कँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले तत्काल नेविसंघको नेतृत्व ल्याउन माग गरेका छन् । नेविसंघले बुधबार आयोजना गरेको ‘विवेकपूर्ण व्यवहार–काँग्रेस एकताको आधार, प्राकृतिक न्यायको आधारमा नेविसंघको नेतृत्वमा हाम्रो अधिकार’ विषयक विचार गोष्ठीमा नेविसंघका नेताले नेविसंघलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका हुन् ।
कार्यक्रममा नेविसंघका नेता मनोजमणि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसंघको नेतृत्व नहुनु दुःखद भएको बताए। “अरू राजनीतिक दलका विद्यार्थी सङ्गठन क्याम्पसमा गएर सदस्यता वितरण गरिसके तर नेविसंघ नेतृत्व खोजेर बसिरहेको छ”, उनले बताए। इतिहास बोकेको विद्यार्थी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ छ ।
नेविसंघका नेता दीपक भट्टराईले पार्टी नेतृत्वले काखा र पाखाको आधारमा क्षमतावान् व्यक्तिलाई किनारा लगाएर अयोग्य व्यक्तिलाई नेतृत्व दिन खोजेको आरोप लगाए । “नेविसंघको नेतृत्व षड्यन्त्रको कोखबाट होइन संघर्षको मैदानबाट जन्मन्छ”, उनले भने।
नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठ, प्रतिमा गौतम, शिव रिमाललगायतले पार्टीको नर्सरीका रुपमा रहेको नेविसङ्घ लामो समयदेखि खाली हुनु दुर्भाग्य भएको बताएका छन् । विसं २०७५ माघमा नेविसंघका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि हालसम्म नेविसंघ नेतृत्वविहीन बन्दै आएको छ ।
Facebook Comment