सामूहिक खेतीसँगै घरबास बनाइँदै

डिसी नेपाल
२७ मंसिर २०७६ १२:२१

चितवन। माडीको कान्तिपुरमा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास (होमस्टे) सहितकोे नमूना बस्ती निर्माण गरिने भएको छ। छयासी घरपरिवारको सय बिघा जमीनलाई चक्लाबन्दी गरेर सामूहिक खेती थालिएको छ । सोही ठाउँमा ५० परिवारका लागि घरबास निर्माण गर्न लागिएको हो।

सूर्योदय कृषि सहकारी संस्था लिमिटेडले माडी नगरपालिका–८ कान्तिपुरमा गत वर्षबाट सामूहिक खेती शुरु गरेको छ। सो आयोजनाका प्रबन्धक शिवजी गायकका अनुसार ८६ घरपरिवारमध्ये घर आवश्यक भएका ५० परिवारलाई स्वरोजगार हुने गरी घरबास निर्माण गर्न लागिएको हो।

सामूहिक खेती गरिएको क्षेत्र दलित बाहुल्य क्षेत्र हो । कूल जमीनधनीहरुमध्ये ४९ घरपरिवार दलितको रहेको छ । त्यसमध्ये पनि ३९ परिवार गन्धर्व रहेको गायकले जानकारी दिनुभयो । चौँतीस परिवार बाहुन क्षेत्री रहेका छन् । दलित बस्तीमा निर्माण गर्न लागिएको घरबास नेपालकै नमूना हुने गायकको भनाइ छ। तीन कठ्ठादेखि चार बिघासम्म जमीन भएका स्थानीयवासीलाई समावेश गरेर सामूहिक खेती गरिएको हो।

संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार सामूहिक खेती गत वर्षको जेठबाट शुरु गरिएको हो । पहिलो बाली ५० बिघामा धान लगाइएको थियो । सो धानको अहिले कुन्यू लगाएर रखिएको छ । सावित्री जातको धान लगाइएको थियो। पौडेलले प्रतिकठ्ठा एक मुरीका दरले जग्गाधनीलाई तत्काल धान दिइने बताए। बाँकी पछि फिर्ता गरिनेछ। पच्चीस बिघामा माछापोखरी निर्माण गरिँदै छ भने २५ बिघा चक्लाबन्दी गर्न बाँकी रहेको छ।

धान थन्काइएको खेतमा जोतेर उपकरणबाट तोरी र मकै रोपिएको छ । पाँच बिघामा हाइब्रिड जातको मकै र पाँच बिघामा तोरी लगाइएको छ । चालीस बिघामा गहुँ लगाउने तयारी थालिएको छ। सामूहिक खेतीभित्र पाँच कठ्ठामा लगाइएको तरकारी बिक्री भइरहेको छ ।

प्रदेश नं ३ सरकारको विशेष सहयोगमा सहकारीले सामूहिक खेती थालेको हो । प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सामूहिक खेतीका लागि धान, मकै र गेडागुडीका लागि थ्रेसर खरिद गरिएको छ भने गहुँ रोप्ने उपकरण सिड ड्रिल पनि सहकारीले भित्र्याएको छ। गत वर्ष सहकारीलाई प्रदेश नं ३ को भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले रु एक करोड पाँच लाख र माडी नगरपालिकाले रु १० लाख उपलब्ध गराएको थियो।

चालु वर्षमा नमूना बस्ती, माछापोखरी, गोदामघर, औजार राख्ने घर, गन्धर्व सूचना केन्द्रलगायतका लागि प्रदेश सरकारले रु दुई करोड र माडी नगरपालिकाले रु २५ लाख विनियोजन गरेको प्रबन्धक गायकले जानकारी दिए।

नेपालकै नमूना सामूहिक खेती र घरबाससहितको नमूना बस्ती बनाउन लागिपरेको गायकको भनाइ छ । माडी क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन बीचको बस्ती हो । यो ठाउँले पर्यटकीय महत्वका दृष्टिले प्रचुर सम्भावना बोकेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *