फेरि उत्तर कोरियाद्वारा आणविक परीक्षण, अमेरिकालाई जवाफ

डिसी नेपाल
२८ मंसिर २०७६ १७:४१

प्योङयाङ (एजेन्सी) । उत्तर कोरिया यो संसारको सबैभन्दा रहस्यमयी र आक्रोशपूर्ण व्यवहारका लागि चर्चित छ । उत्तर कोरियाको राजनीतिक व्यवस्था कम्युनिष्ट हो । तर, सँधै अमेरिकासँगको उसको जोरीले विश्व राजनीति तरंगित हुने गर्छ । उत्तर कोरियाले फेरि विश्वलाई नै तरंगित पार्ने गरी आणविक क्षमता बढाएको समाचारहरु आएका छन् । उत्तर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन ‘महत्वपूर्ण परीक्षण’ सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ । तर, हालसम्म उसको आणविक क्षमता कति हो र बढाइएको क्षमताले उसलाई कुन स्तरमा पुर्याएको छ भन्नेबारे भने यकिन तथ्यांक छैन ।

एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो । तर उनले थप विवरण दिएनन् । यो एकहप्ता भन्दा कम समयमा गरिएको दोश्रो परीक्षण हो । हाल अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ । अमेरिका र उत्तर कोरियाबीच वाक युद्ध चलिरहेका बेला त्यहाँबाट लागतार क्षेप्यास्त्र परीक्षणका समाचारहरु सार्वजनिक भइरहेका छन् । प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियहरू दिन भनेको छ र त्यसो नभए उसले ‘नयाँ बाटो’ अपनाउने बताएको छ । उत्तर कोरियामाथि वर्षौदेखि अमेरिकी नाकाबन्दी छ । जसको कारण उत्तर कोरियाको आर्थिक अवस्था दयनीय बनेको छ।

दक्षिण कोरियाका रक्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इन्जिनको परीक्षण गरिएको बताए । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए । ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ–अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निरस्त्रीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन ।

अमेरिकाले मध्यम दुरीको बलिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरमा बिहीवार परीक्षण गरेको थियो । यो हतियार १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी भनिने सन्धि अन्तर्गत प्रतिबन्ध गरिएको थियो । तर राष्ट्रपति ट्रम्पले गत वर्ष त्यो सन्धिबाट बाहिरिने निर्णय गरेका थिए । उत्तर कोरियाले पनि अमेरिकी परीक्षणको प्रत्युत्तरमा परीक्षणको समाचार चुहाएको हुन सक्ने विश्लेषण गरिएको छ । उत्तर कोरियाबारेका समाचारमा त्यहाँको सरकारी समाचार एजेन्सीमा भर पर्नुपर्ने बाध्यता भएकाले यी परीक्षणबारे स्वतन्त्र समाचारहरु आउन सकेका छैनन् । जापानी र दक्षिण कोरियाली एजेन्सीहरुले उत्तर कोरियाबारे रिपोर्टहरु दिने गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *