गोकर्णेश्वर र आर्भिङबीच भगिनी सम्बन्ध स्थापना गरिँदै

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र अमेरिकाको टेक्सास राज्यस्थित सिटी अफ आर्भिङबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया शुरु भएको छ ।
दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले गोकर्णेश्वरको तीन सदस्यीय प्रतिनिधिमण्डलले आर्भिङ शहरको १० दिने भ्रमण गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा वडा नं ५ का अध्यक्ष नारायण सुवेदी र वडा नं ६ का अध्यक्ष रमेश अर्यालले यसै हप्ता अमेरिकाको भ्रमण गरेका हुन् । सो अवसरमा गोकर्णेश्वरका नगरप्रमुख सन्तोष चालिसेले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपालको भ्रमणमा आउन आर्भिङका नगरप्रमुख रिक स्टोफरलाई निमन्त्रण पठाएका थिए।
दश दिने भ्रमणका क्रममा आर्भिङ शहरमा भएका फोहरमैला व्यवस्थापन, खानेपानी, दमकल, प्रहरी सेवा, आदि व्यवस्थापनको अवलोकन गरिएको टोली सदस्य वडाध्यक्ष अर्यालले जानकारी दिए। आर्भिङका नगरप्रमुख नेपाल आएपछि दुवै शहरबीच सम्बन्ध स्थापित भई भगिनी सम्बन्ध कायम गर्न सहयोग पुग्ने जनाइएको छ । दुवै नगरका अधिकारीबीचको भ्रमण यसपछि बढ्दै जाने सम्झौतासमेत भएको उनले सुनाए । यसको संयोजन नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स टेक्सासले गरेको नगरपालिकाले जनाएको छ ।
Facebook Comment