घोराहीमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागु
दाङ । घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरु गरेको छ । कृषि शाखाले दिएको जानकारीअनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरु गरिएको हो ।
चालु आर्थिक वर्षदेखि शुरु गरिएको उक्त कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा नौ वडामात्रै सहभागी भएका छन् । कृषि शाखाका प्रमुख चोपनारायण खनालले एक वडा एक कार्यक्रमका लागि सबै वडामा मागका लागि पत्राचार गरिए पनि वडा नं ९ ले मात्रै कार्यक्रम माग गरेपछि सोही अनुसार पहिलो चरणको बजेट विनियोजन गरिएको बताए । आगामी वर्ष थप अन्य वडालाई पनि समेटेर कार्यक्रम शुरु गरिने उनले जानकारी दिए ।
प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षमा वडा नं १ मा पिँडालु खेती, वडा नं ३ मा आलु, वडा नं ४ मा प्याज, वडा नं ५ मा टमाटर, वडा नं ६ मा आलु, वडा नं १० मा आलु, वडा नं १३ मा पनि आलु, वडा नं १७ मा सिमी र वडा नं १९ मा कागती खेतीका लागि छनोट गरिएको छ । त्यसका लागि शाखाले प्रतिवडा ९५ हजारदेखि दुई लाखसम्म बीउ वितरणका लागि बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा उपमहानगरले नगर क्षेत्रको कृषि विकासका लागि ९७ लाख विनियोजन गरेको छ । सोमा उपमहानगरको कृषि शाखाले चालु आवमा जिल्लाका विभिन्न कृषि सहकारीलाई खनजोतका लागि यान्त्रिक सामग्री, गहुँ, तोरी, मकैको बीउ वितरणको काम गरेको छ । उपमहानगरका अनुसार चालु आवमा १८ पावर ट्र्याक्टर वितरण गरेको छ । यस्तै गहुँको बीउ, तोरी, मकै पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको शाखाका कृषि सेवा अधिकृत दीपक बुढाथोकी बताए।
उनका अनुसार शाखाले विपन्न परिवारलाई भकारो सुधार, साना सिँचाइ, सहकारी सिँचाइअन्तर्गत पम्पसेट वितरण पनि गरिरहेको छ । जिल्लाको कृषि शाखाबाट हुने सबै प्रकारका सेवा तथा कार्यक्रमका बारेमा शाखाले नियमति रुपमा सञ्चारमाध्यम, वडा कार्यालय र उपमहानगरपालिकाको सूचना बोर्डमा टाँसेर जानकारी दिने गरेको बताए।
Facebook Comment