कानून जान्दिन भन्न पाइदैन : सभामुख घर्ती
बुटवल । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले सभ्य समाज निर्माणका लागि कानूनको अनिवार्य पालना गर्नु सबैको दायित्व भएको बताएका छन् ।
कालिका मानव ज्ञान माध्यमिक विद्यालयले शनिबार बुटवलमा आयोजना गरेको कानूनी शिक्षा महोत्सवको उद्घाटन समारोहमा उनले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले कानूनको पालना गर्नुपर्नेमा जोड दिए । “कानून जान्दिन भनेर उम्कन पाइदैन, यसबारे सबै जानकार हुनुपर्छ”, उनले भने ।
सभामुख घर्तीले विद्यालयमा अध्यापन हुने सबै विषय महत्वपूर्ण हुने बताउँदै अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्न विद्यार्थीहरुलाई आग्रह गरे।
नेपाली काँग्रेसका प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले कानूनको विषयमा सबै जानकार रहनुपर्ने बताइन् । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानूनको पालनाले देशलाई सभ्य र सुसंस्कृत बनाउने धारणा राखे । अर्का प्रदेशसभा सदस्य कमला विश्वकर्माले निर्माण गरिएका कानूनहरुको अक्षरस पालनाका लागि नागरिकहरुमा सचेतना जगाउनुपर्नेमा जोड दिइन् ।
उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीवक्ता नवराज थपलियाले पद र प्रतिष्ठाका लागि कानून व्यवसायीहरू बीचमै मतभेद हुन नहुने बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले कानून विषय अध्यनका लागि अहिले रुपन्देही बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए।
कानून विषयको महत्व, आवश्यकता र भविष्यबारे गहन छलफल र जानकारी गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिए ।
महोत्सवमा कानून व्यवसायी, अदालतका न्यायाधीवक्ता, अधिवक्ता, कानून व्यवसायी र कानून विषय अध्यापन गराइरहेका प्रध्यापक तथा देशका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा कानून विषयमा अध्ययन गरिरहेका २०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको छ ।
Facebook Comment