काँग्रेसमा विवाद मिलाउन देउवा पक्षको दौडधुप

डिसी नेपाल
२८ मंसिर २०७६ २१:०९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा आगामी महाधिवेशनको मितिलाई लिएर बढेको विवाद मिलाउन शीर्ष नेताहरु नै सक्रिय बनेका छन्।

पार्टी विधान विपरित कार्यकाल सकिनै लाग्दा सभापति शेरबहादुर देउवाले ४१ विभाग गठनको प्रस्ताव केन्द्रीय कार्य समिति बैठकमा लगेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गएको शुक्रबार केन्द्रीय समिति बैठक नै बहिस्कार गर्यो।

पौडेल पक्ष बैठक नै बहिस्कारको तहमा उत्रिएपछि शुक्रबार सभापति देउवा पक्षी नेताहरुको भेला देउवा निवास बुढानिलकण्ठमा भयो। यता नेता प्रकाशमान सिंहको निवाु चाक्सिवारीमा पौडेल पक्षको भेला भयो। दुबै भेलाहरुमा पार्टी भित्रको विवाद समधान गर्नुपर्ने साझा एजेण्डा पनि निस्के। यसपछि दुबै पक्षले वार्ताका लागि भन्दै समितिहरु पनि गठन गरे।

एउटै पार्टी भित्र वार्ताका लागि समिति गठन गरिएको सम्भवत यो नेपाली राजनीतिक दलमा पहिलो घटना हो। पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा र देउवा पक्षले उपसभापति विमलेन्द्र निधीको संयोजकत्वमा वार्ता समिति गठन गरे।

शनिबार सभापति देउवा उपसभापति निधिलाई साथमा लिएर पौडेल निवास बोहोराटार पुगे। त्यहाँ दुई शीर्ष नेताहरुबीच पार्टी भित्रको आन्तरिक विवाद समधान गर्ने विषयमा छलफल भयो। यो भेट पौडेल र देउवाबीच पछिल्लो दिनमा देखिएको तिक्तता मेटाउन पर्याप्त थियो। देउवाको उद्देश्य पनि त्यहि थियो।

बोहाराटारमा सभापतिलाई चियाँसँगै स्वागत गरेका पौडेलले आगामी महाधिवेशनबारे आफ्नो पूर्व अडान यथावत रहेको र बाँकी कुरा वार्ता समितिमै छलफल गर्न सभापति देउवालाई भने।

वार्ता समितिमै छलफल गर्नुपर्ने पौडेलको भनाईलाई सकरात्मक रुपमा लिँदै शनिबार चाक्सिबारीमा विमलेन्द्र निधी वार्ताका लागि पुगे। दुबै पक्षबीच भएको वार्ता सकरात्मक रहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

तर, के कस्ता सहमति भए भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन। शनिबारको देउवा पक्षको दौडधुप कस्तो रह्यो भन्ने आइतबार बस्ने नेपाली काँग्रेसको बैठकले प्रस्ट्याउनेछ। आइतबारको बैठकमा पौडल पक्षले सहमति जनाए देउवा र पौडलबीच सहमति भएको बुझिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *