निर्भया काण्डः जल्लादलाई कम बोल्न र सतर्क रहन निर्देशन, मिडियामा जल्लादले के भने ?

डिसी नेपाल
२९ मंसिर २०७६ ११:३१

नयाँ दिल्ली। निर्भया काण्डका दोषीहरुलाई फाँसी दिने मिति र समय तोक्ने बेला नजिकिँदै गर्दा यस विषयमा थप गतिविधि हुन थालेका छन् । दिल्लीमा रहेको तिहाड जेलको जेल नम्बर ३ थित फाँसी घरको सरसफाइपछि त्यसको सुरक्षा मजबुत बनाइएको छ । अर्कोतर्फ यी ४ दोषीलाई फाँसी दिनको लागि सबैभन्दा धेरै सम्भावित मानिएका उत्तर प्रदेशको मेरठका पुर्ख्यौली जल्लाद पवन कुमारलाई जेल अधिकारीहरुले विभिन्न निर्देशन दिएका छन् ।

जल्लाद पवनले शनिबार समाचार एजेन्सीसँग केही कुरा गरेका छन् । उनले भने ‘अब म तबसम्म मोवाइलमा वा मिडियासँग धेरै कुरा गर्दिन जबसम्म निर्भया काण्डका दोषीहरुको सजायको विषयमा कुनै अन्तिम फैसला आउँदैन ।’ एक प्रश्नको जवाफमा पवनले भने ‘म अहिलेसम्म यो विषयमा मिडियासँग खुलेर कुरा गरिरहेको थिएँ । मेरो पनि इच्छा छ कि मैले नै निर्भयाका दोषीहरुलाई फाँसी दिने अवसर पाउँ । यो विषय निकै पेचिलो र संवेदनशील छ । जब तिहाड जेल प्रशासनले निकै गोप्य तरिकाले उत्तर प्रदेश जेल प्रशासनसँग जल्लादको विषयमा कुरा सुरु गर्यो त्यतिबेलादेखि नै मलाई धेरै कुरामा प्रतिबन्ध लगाइएको छ ।’

पवनले अगाडि भने ‘मेरठका जेल अधिकारीहरुले मलाई केही दिनम्म कसैसँग धेरै कुराकानी नगर्न निर्देशन दिनुभएको छ । यसबाहेक शहरबाहिर नजान र आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि भन्नुभएको छ । उहाँहरुले मलाई केही दिन निकै सतर्क रहन भन्नुभएको छ । माथबाट कुनै आदेश आउने सम्भावना छ ।’ पवनका अनुसार मेरठ जेलका अधिकारीहरुले निर्भया काण्डको नाम लिएका भने छैनन् तर मिडियामा आएका खबरअनुसार उनलाई यही कामको लागि निर्देशन आएको जतो उनलाई लागिरहेको छ ।

पवनले अगाडि भने ‘मैले कुनै तयारी गर्नु पर्दैन । डेथ वारन्टको खबर पाएपछि मलाई तिहाड जेलमा पुगेर केवल ४५ मिनेट चाहिन्छ, चारै जना दोषीलाई फाँसीको फन्दामा झुण्ड्याउन । मिडियामा आएका खबरबाटै मैले थाहा पाएको छु कि निर्भयाका दोषीहरुलाई फाँसीमा झुण्ड्याउनको लागि तिहाड जेल प्रशासनले डोरी तयार गराएको छ । यो कुरामा कत्तिको सत्यता छ मलाई थाहा छैन ।’ चारै जनालाई एकैपटक फाँसीमा झुण्ड्याउन कसरी सम्भव छ ? यस प्रश्नको जवाफमा पवनले आफूलाई चारैजनालाई एकैपटक झुण्ड्याउन समस्या नभएको बताए ।

उनले भने ‘एकसाथ चार फन्दा झुण्ड्याउँछु । त्यसपछि एक एक गरेर चारैजनाको हात पछाडि बाँधिदिन्छु र दुवै खुट्टा बाँधिदिन्छु । चारैजनालाई घाँटीमा फन्दा हालेर उभ्याउँछु । जब जेलरले रुमाल हल्लाएर इशारा गर्नुहुन्छ, एकसाथ चारै फन्दाका तख्ताको लिभर तानिदिन्छु । आधा घण्टा वा ४५ मिनेटपछि ‘मौत का कुआं’मा झुण्डिरहेका शवको जाँचको लागि सबैभन्दा पहिले म र एक डाक्टर जानेछौं ।’ उनका अनुसार जब डाक्टर र जल्लादले चारैजनाको मृत्यु भएको इशारा गर्नेछन् त्यसपछि कुवाभित्र रहेका बत्ती बालेर उज्यालो बनाइनेछ । त्यसपछि जेलर कुवानजिक आएर कागजमा घटनास्थलको हाल लिखित रुपमा दर्ता गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *