नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय

डिसी नेपाल
२९ मंसिर २०७६ १२:०६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटीको आजैदेखि शुरु हुने बैठकको एजेण्डा तय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारतको सीमा बैठकलगायत विविध कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी कमिटी बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्नेछ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली पनि केही समयका लागि उपस्थित थिए। बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य तीव्ररूपमा सुधार भइरहेको जानकारी गराएका थिए। बैठकले उनको राम्रो स्वास्थ्यप्रति खुशी प्रकट गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसअघि यही मङ्सिर २३ गतेको सचिवालय बैठकले मङ्सिर २७ गते शुक्रबारका लागि बैठक तय गरे पनि स्थायी कमिटीको तयारीका कारण स्थगित गरिएको थियो। सोही कारण शनिबारको बैठकसमेत स्थगित भएको थियो। नेकपाका अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलगायत नेताहरुसँग छलफल गरी स्थायी कमिटीमा पेश गर्ने दस्तावेज तयार गरेका छन्।

मङ्सिर २३ को सचिवालय बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे सङ्गठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय गरेको थियो। उक्त बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेलगायत यसअघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आउँदो स्थायी कमिटी बैठक र आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय पनि गरेको थियो।

यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सात दिनभित्र महासचिवमार्फत प्रस्ताव पेश गर्न सोही बैठकले आग्रह गरेको थियो। तर सचिवालयको आजको बैठकमा स्याथी कमिटीको एजेण्डाबाहेक अरू विषयमा प्रवेश नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यही मङ्सिर ४ गते बसेको सचिवालय बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अर्का अध्यक्ष दाहालले पार्टीको काम हेर्ने गरी कार्यविभाजन गरेको थियो। कार्यविभाजनपछि पार्टीको काममा अध्यक्ष दाहालको सक्रियता बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *