२ घण्टा फाँसीमा झुण्ड्याउँदा पनि अपराधीको प्राण नगएपछि…
नयाँ दिल्ली (एजेन्सी)। भारतमा अहिले निर्भया काण्डका ४ अपराधीहरुलाई फाँसी दिने विषय चर्चामा छ । उनीहरुलाई फाँसी दिइने लगभग तय मानिएको छ । तर, भारतमा एउटा केस यस्तो पनि छ जसमा फाँसीमा २ घण्टा झुण्ड्याउँदा पनि अपराधीको प्राण गएको थिएन । त्यसपछि उसलाई अर्कै तरिका अपनाएर मारियो । यो घटना ४० वर्ष अगाडिको हो ।
घटना १९७८ को हो । दिल्लीमा दिदीभाइको अपहरण भयो । त्यसपछि दिदीलाई बलात्कार गरियो । त्यसपछि दुवै दिदीभाइको हत्या गरियो । यो अपहरण रंगा बिल्लाले गरेका थिए । यिनीहरु त्यो समयका कुख्यात अपराधी थिए । यो घटनाको खबरपछि त्यतिबेलाका प्रधानमन्त्री मोरारजी देसाइ स्वयं पीडितको घर गएका थिए र यो घटनाको आफैं निगरानी गरेका थिए । यसरी प्रधानमन्त्री नै पीडितको घरमा पुग्नु दुर्लभ घटना मानिन्छ ।
रंगा बिल्लाले त्यतिबेला नौसेनाका अधिकारी मदन चोपडाकी छोरी गीता र छोरा संजयको अपहरण गरेका थिए । पछि यी दिदीभाइको हत्या गरियो । रंगाको वातविक नाम कुलजीत सिंह र बिल्लाको वास्तविक नाम जसबीर सिंह थियो । १९७८ मा गीता र संजय चोपडाको अपहरण र हत्याले दिल्लीसहित पूरै देशलाई हल्लाएको थियो । यो घटनाको चर्चा विदेशमा समेत भएको थियो ।
जतिबेला रंगा बिल्लाले गीता र संजयको अपहरण गरेर मारेका थिए त्यतिबेला उनीहरुको उमेर निकै कम थियो । गीता १६ वर्षकी थिइन् भने संजय १४ वर्षका थिए । रंगा बिल्लाले नेवी अधिकारी मदन चोपडाकी छोरी गीता र छोरा संजयलाई २६ अगष्ट १९७८ मा फिरौतीका लागि अपहरण गरेका थिए तर उनीहरुलाई यी दुईका पिताले के काम गर्छन् भन्ने थाहा थिएन । जब रंगा र बिल्लालाई थाहा भयो कि यी दुईका पिता नेवी अधिकारी हुन्, उनीहरुले दुवैको हत्या गरिदिए ।
३१ जनवरी १९८२ मा रंगा र बिल्लालाई फाँसी दिइएको थियो । यी दुईमध्ये एक अपराधी त फाँसीमा झुण्ड्याएपछि मरयो तर तर अर्को भने २ घण्टापछि पनि जिउँदै थियो । उसको नाडी चलिरहेको थियो । मेडिकल साइन्सका अनुसार व्यक्तिको तौल कम भएमा वा ऊ सास रोक्न सक्षम भएमा यस्तो हुनु सम्भव छ । तिहाड जेलका पूर्व प्रवक्ता सुनील गुप्ताले आफ्नो किताब ‘ब्ल्याक वारंट’ मा यो घटना उल्लेख गरेका छन् ।
फाँसी दिने दिन रंगाले नुहाएको थियो तर बिल्लाले नुहाएको थिएन । तत्कालीन जेल सुपेरिटेण्डेण्ट आर्यभूषण शुक्लाले रुमाल खसालेर फाँसीको लख्ताको लिभर तान्न इशारा गरेका थिए । २ घण्टापछि डाक्टरले जाँच गर्दा बिल्ला मरिसकेको थियो तर रंगाको नाडी चलिरहेको थियो । जेलका डाक्टरले जब रंगा जिउँदै भएको पाए त्यसपछि जेल प्रशासनले कसैलाई तख्ताको तल पठाएर रंगाको खुट्टा तान्न आदेश दिए । फाँसीमा झुण्डिएकै अवस्थामा रंगाको खुट्टालाई तलबाट तानेपछि बल्ल उसको मृत्यु भएको थियो ।
Facebook Comment