केन्द्रीय समिति बैठकमा उपस्थित नहुने पाैडेल समूहकाे निर्णय

काठमाडौं। आफूहरुको माग पूरा नगरी सभापति शेरबहादुर देउवा पेलेरै अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबारब बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। आइतबार विहान कांग्रेस महामन्त्री डा. शशांका कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भएको छलफलमा केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निर्णय भएको हो।
उनीहरुबी वरिष्ठ नेता रामचन्द्र पौडेल विराटनगरबाट आइतबार साँझ फर्किएपछि दुवै पक्षबीच छलफल भएर ठोस निर्णय नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरिएको पूर्व महामन्त्री प्रकाशमान सिंह निकट स्रोतले जानकारी दियो।
वरिष्ठ नेता पौडेले शनिबार पाथीभरा जाने क्रममा विराटनगर पुगेका थिए। पौडेल आज साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ। दुवै पक्षबीच सहमति जुटाउन नेता सिंहको समितिले प्रयास जारी राख्ने बताइएको छ।
सभापति देउवाले विधान विपरित कार्यकाल सकिनै लाग्दा ४१ विभाग गठनका प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा लगेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक नै बहिष्कार गरेको थियो।
वरिष्ठ नेता रामचन्द्र पौडेल छिटो महाधिवेशन होस् भन्ने पक्षमा छन्। उनले गत महासमिति बैठकदेखि नै समयमै महाधिवेशनको एजेन्डालाई प्राथमिकतामा राखेका थिए।
सभापति देउवाले एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेपछि पौडेल अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गरेर जानुपर्ने अडानमा छन्।
देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ।
उनी विधानअनुसार नै थप गर्न पाउने एक वर्ष कार्यकाल थप गर्ने पक्षमा छन्। कार्यकाल थप गर्ने भए पनि अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान पौडेलको छ।
यतिमात्र होइन, तीन महिनाभित्र गठन गर्नुपर्ने पार्टी विभाग चार वर्षसम्म गठन नगरेका देउवाले आफ्नो सहमतिबिनै विभाग गठन र थप गर्ने एजेन्डा केन्द्रीय समितिमा पेश गरेपछि पौडेल पक्ष असन्तुष्ट छ। पार्टी विधान नै संशोधन गरेर २८ बाट विभाग थपेर ४१ बनाउन लागेपछि पौडेल पक्ष सशंकित छ।
Facebook Comment