पौडेल पक्षले बहिस्कार गरेको काँग्रेस बैठकले गर्यो यस्ता निर्णय

डिसी नेपाल
२९ मंसिर २०७६ १८:३२

काठमाडौं। आइतबार बसेको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेको छ।

बैठकमा महाधिवेशनको कार्यतालिका सम्बन्धि प्रस्ताव पेश नभएको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको हो।

पार्टीमा विभाग थप्ने लगायत विभिन्न ९ वटा प्रस्ताव प्रस्तुत भएको बैठमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सम्बिन्धि प्रस्ताव पेश हुनुपर्ने माग पौडेल समूहले राख्दै आएको छ।

बैठकमा प्रस्तावित एजेण्डाहरुलाई सहमतिमा पारित गर्न आन्तरिक छलफल तिव्र पारिएको र सहमति नजिक नेताहरु पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

वरिष्ठ नेता पौडेल पाथिभारा दर्शनका लागि सपरिवार गएकाले आइतबारको बैठकमा उपस्थित नभएको बताए। बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा आइतबार सामान्य छलफल भए पनि उपनिर्वाचनको समीक्षामा बैठक केन्द्रित रहेको उनले बताए।

प्रवक्ता शर्माले बैठकका एजेण्डाहरु पदाधिकारी बैठकमा सहमति भएपछि तय भएको र सबैको सहमतिबाट नै पारित हुने दाबी समेत गरे।

महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी निर्वाचन समिति भएको र केन्द्रिय समितिले महाधिवेशनको मिति मात्रै तय गर्ने शर्माले बताए।

आइतबारको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच शनिबार भएको छलफलका विषयमा ब्रिफिङ गरे।

स्थानीय तहहरुको समायोजन पौष महिनाको मध्यसम्म सक्ने निर्वाचन समितिले जानकारी दिएको र त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने प्रस्ताव देउवाले पौडेललाई राखेको निधिले बैठकमा बताएका थिए। आइतबारको बैठकमा बिहान भएको दुर्घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै घाइतेहरको उपचारको पनि माग गरिएको छ।

पछिल्लो समय सडक दुर्घटनाहरु बढिरहेको र यसको न्यूनिकरणका लागि सडकको स्तरोन्नती गर्ने लगायतका विषयमा सरकार गम्भिर हुनुपर्ने कांग्रेसले माग गरेको छ।

धनुषामा भएको बम विस्फोटको घटनामा ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति बनाएर घटनाको दोषिलाई कारवाही गर्न समेत माग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *