भाजपा विधायक सेंगर बलात्कारी ठहर
नयाँ दिल्ली (एजेन्सी) । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीबाट उत्तर प्रदेशको विधायक निर्वाचित कुलदीप सिंह सेंगर बलात्कारी ठहर भएका छन् । दिल्लीको तीस हजारी अदालतले सेंगरलाई उन्नाव बलात्कार मुद्दामा सोमबार दोषी ठहर गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अदालतले सो मुद्दाकी अर्की आरोपी महिला शशि सिंहलाई भने निर्दोश सावित गरेको छ ।
शशि सिंहले रोजगारी दिने भन्दै पीडित बालिकालाई कुलदीप सिंह सेंगरकोमा पुर्याएकी थिइन् । त्यसपछि सेंगरले ती बालिकाको बलात्कार गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । सोमबार अदालतले सेंगरलाई दोषी ठहर गरे पनि सजाय भने तोकिसकेको छैन । उनीमाथि आगामी १९ डिसेम्बरमा अदालतले साजाय तोक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तीस हजारी अदालतले शुरुमा यो बलात्कार मुद्दाको अनुसन्धान गरेको केन्द्रीय जाँच ब्यूरो (सीआईबी)माथि पनि घटनाको राम्रोसँग अनुसन्धान नगरेको भन्दै ठिकसँग अनुसन्धान गर्न आदेश दिएको छ । अदालतले पीडित बालिकाले आफ्नो र परिवारजनको ज्यान जोगाउन ढिलागरी मुद्दा दायर गरेको बताए को छ । अदालतले भनेको छ, ‘पीडितको मनको व्यथा हामी बुझ्छौं । सामूहिक बलात्कारको मुद्दामा सीआईबीले मुद्दा दायर गर्न किन एक वर्षको समय लगायो ?’
तीस हजारी अदालतले कुलदीप सिंह सेंगरमाथि धारा १२० (आपराधिक षडयन्त्र), ३६३ (अपहरण), ३६६ (बिहेका लागि जबरजस्ती मनाउन अपहरण वा उत्पीडन), ३७६ (बलात्कार र अन्य सम्बन्धित धारा) र पोक्सो कानूनअनुसार दोषी ठहर गरेको हो ।
यो मुद्दामा ५ वटा एफआईआर दर्ता गरिएको थियो । जसमध्ये एक निवेदनमामात्र अदालतले फैसला सुनाएको हो । बाँकी एफआईआरमाथि सोही अदालतमा अझै सुनुवाई भइरहेको छ । जसमा पीडितका बाबुको प्रहरी हिरासतमा मृत्यु, सडक दुर्घटनामा मारिएका उनका परिवारका दुईजना सदस्य, पीडितमाथि गरिएको सामूहिक बलात्कार र उनका काकामाथि कथितरुपमा झुठो आरोपमा मुद्दा चलाएको विषयका निवेदन छन् ।
बलात्कारी ठहर कुलदीप सिंह सेंगर भाजापाको टिकटमा उत्तर प्रदेश विधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनीमाथि बलात्कारको आरोप लागे पनि लामो समयसम्म पार्टीले उनको संरक्षण गरेको भन्दै भारतीय सञ्चार माध्यमहरुमा लगातार समाचारहरु आएका थिए । विपक्षीले पनि सेंगरलाई भाजपाले संरक्षण गरेको आरोप लगाएका थिए । दबाब बढेपछि भाजपाले उनलाई पार्टीबाट निलम्बित गरेको थियो ।
Facebook Comment