वरिष्ठ कलाकार भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं। वरिष्ठ कलाकार तथा चलचित्र बोर्डका अध्यक्ष स्वर्गीय केशव भट्टराईको सोमबार राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलु बाँस्कोटा अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेका थिए।
भट्टराईको हृदयघातका कारण आइतबार राती ५१ वर्षको उमेरमा निधन भएको थियो।
यस्तै सोमबारै अर्का वरिष्ठ कलाकार दीपक क्षेत्रीको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। क्षेत्री शनिबार आफ्नै कोठमा मृत फेला परेका थिए। लामो समयदेखि विरामी क्षेत्रीको उपचारका लागि खर्च जुटाउन कलाकर्मीहरुले अभियान नै चलाएका थिए। दुबै लोकप्रिय कलाकारको अन्तिम संस्कारमा पशुपति आर्यघाटमा कलाकर्मी र सर्वसाधारणको ठूलो भीड लागेको थियो।
यसअघि सोमबारै चलचित्र विकास बोर्डमा चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा एक कुशल अभिनेता भट्टराई र अर्का बरिष्ठ अभिनेता दीपक क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । शनिबार आफ्नै निवासमा मृत भेटएका क्षेत्री र आइतबार एक्कासी निधन भएका भट्टराईको संयुक्त श्रद्धाञ्जली गरिएको हो ।
क्षेत्री र भट्टराईलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै कलाकार हरिवंश आचार्य, निखिल उप्रेती, रमेश उप्रेती, सरोज खनाल, रेखा थापा, सरिता लामछाने, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), निर्मल शर्मा, संचिता लुइटेल, वर्षा शिवाकोटी, एलिजा गौतमलगायतका कलाकारहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
Facebook Comment