नेकपा स्थायी कमिटी बैठकः १२ जनाले राखे धारणा

डिसी नेपाल
३० मंसिर २०७६ १६:५४

काठमाडौं। सत्तारुढ दल नेकपाको जारी चौथो स्थायी कमिटी बैठकमा सोमबार १२ जना सदस्यहरुले बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आ आफ्नो धारणा राखेका छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार हरेक सदस्यलाई २० मिनेट बोल्न समय दिइएको थियो। सोमबार १२ जनाले बोलेपछि बैठक स्थगित गरिएको उनले जानकारी दिए। सदस्यहरुले बैठकमा पेश भएका प्रस्तावहरुमाथि धारणा राख्नेक्रम नसकिएकाले बैठक मंगलबार पनि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सोमबार बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले आ आफ्नो धारणा राखेका थिए।

धारणा राख्नेक्रममा कतिपय सदस्यहरुले वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत दिएको प्रवक्ता श्रेष्ठले बताए। तर उनीहरुले कस्तो सुझाव दिएका हुन् भन्ने विषयमा भने उनले जानकारी दिएनन्।

प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक दोस्रो दिन आज मिति २०७६ मंसीर ३० गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो ।

बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्नेक्रम अघि बढेको छ । यस सिलसिलामा स्थायी कमिटीका १२ जना सदस्यहरुले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि निर्धारित २० मिनेट समय सीमाभित्र रहेर मन्तव्य राख्नुभएको छ ।

आजको बैठकमा कमरेडहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गर्नुभयो । उहाँहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राख्नुभएको छ ।
स्थायी समितिको अर्को बैठक भोलि पुस १ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
प्रमुख, केन्द्रीय प्रचार विभाग




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *