सडकमा सुत्यो भन्दैमा हेप्नी…

डिसी नेपाल
१ पुष २०७६ १४:४१

काठमाडाैं। काठमाडौँ उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चावहिल क्षेत्रमा उद्धार अभियान चल्यो। गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका फाइए।

उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए। साथमा नेपाली प्रहरीको ठूलै समूह थियो। कोही सडकका पेटी, कोही सटर लगाएको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए।

मित्रपार्क नजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनले मानिन् । जसरी पनि लैजाने भनेपछि उनी जङ्गिइन्। “के मलाई सडकमा सुतेको छ भनेर हेप्न पाइन्छ, तिमीहरुभन्दा म के कम, मेरो घर छ, परिवार छ, म धनी परिवारकै मान्छे हुँ”, शरीरबाट पैसाको बिटो निकाल्दै उनी चर्किइन्।

प्रहरी देखेपछि उनलाई डर लागेर होला त्यसपछि रुन थालिन्। भोलिदेखि सडकमा बस्दिन आज आफन्तकोमा जान्छु भनेर ढिपी गरे पनि उनलाई उद्धार गरेर लगियो। गौलाशा चोकमा ४९ वर्षका जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए। मजदूरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेनन्।

आफन्त र साथीभाइ रहेकाले आज यहाँ सुतेपनि भोलिदेखि नसुत्ने उनले अडान कसे। आश्रमका अभियन्ता र प्रहरी मिलेर उठाउन खोजेपछि उनले मानवीयता नभएको मान्छे भन्दै अङ्ग्रेजीमा गाली गरे।

उद्धारको क्रममा कोही मजदूरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ भएर सुतिरहेको पाइए। चावहिल नजिकिएको पुलमुनी धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ्याउने भेटियो। राति १० बजे यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एकजना सुतिरहेका थिए। पर्खालको भित्तो मुस्किलले चढेर जानुपर्ने पुलमुनी सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्ने नै पर्यो।

सोमबार राति ८ बजेदेखि १०ः३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तवकि बेसहारा नभेटिए पनि दिनभर माग्ने पेशा अपनाएका, मजदूरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भएर सडकमा बसेका धेरै भेटिए । सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्याथी आवास केन्द्रमा लगिएको छ। यसअघि यसरी ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश सयोजक सुमन बर्ताैलाले जानकारी दिए।

केही दिनअघि मात्रै थापाथली पुनमुनी वाग्मती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो। काठमाडौँमा बेवारिसे मान्छे न्यून र पेशेवर मगन्ते तथा मजदूरी गरेर मदिरा खाई सडकमा सुत्ने धेरै भेटिएको छ।

यहाँ मङ्सिर २९ गते काठमाडौँ महानगर, मानवसेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएर बेसहाराको उद्धार गरी संरक्षण र मगन्तेहरुको व्यवस्थापन अभियान थालिएको छ। अस्थायी आवास केन्द्रमाप पु¥याउने छनोट गरी बेसहारालाई आश्रममा लगिने र अन्यलाई घरपरिवार पत्ता लगाएर सडकमा नआउने सर्तमा छाड्ने गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ। भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

त्यसलाई कार्यान्वयनको चरणमा अहिले उद्धार अभियान चलाइएको हो । तीन महिना उक्त अभियान सञ्चालन हुनेछ। पहिलो चरणमा राति सडकमा सुत्नेहरुको उद्धार शुरु भएको र त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

काठमाडौँ महानगरले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र्र (स्क्रिनिङ् सेन्टर) बनाएको हो। यसअघि आश्रमकै पहलमा पहिलो पटक २०७४ साल चैत ५ गते गोरखा नगरपालिका र सोही चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो।

विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय, बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनःमिलन गराउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *