सभामुख चयनका विषयमा सत्तारुढ दल अनिर्णित

डिसी नेपाल
२ पुष २०७६ १०:२४

काठमाडौं। संसदको हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ। अधिवेशनको मिति नजिकिएपनि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाले हासम्म निर्णय गरेको छैन।

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार गरेको आरोपमा राजीनमा दिएपछि विगत दुई महिनादेखि सभामुख पद रिक्त छ। नेकपाले सभामुख पद आफैंसँग राख्न चाहेको छ। त्यसका लागि वर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनमा दिनु पर्ने हुन्छ।

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ। नेकपाले सभामुख पद आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने भएपनि उनले हालसम्म राजीनामा दिएकी छैनन्। उपसभामुख तुम्बाहाम्फेले आफूलाई नै सभामुख बनाउनु पर्ने दाबी गर्दै आएकी छन्।

नेकपाको जारी स्थायी कमिटी बैठकमा समेत सदस्यहरूले सभामुख चयन प्रक्रिया लम्ब्याइरहन उचित नहुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराए पनि नेतृत्वले यो विषयमा निर्णय गरेको छैन।

नयाँ सभामुखका लागि नेकपाभित्र सुवासचन्द्र नेम्वाङ र अग्नि सापकोटाको नाम चर्चामा छ। नेताहरू सभामुख कसलाई बनाउने भन्नेबारे पार्टीभित्र औपचारिक छलफल नभएको बताउँछन्। नेकपामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच सभामुख पदका लागि हानाथाप चलिरहेको छ । पूर्वएमाले पंक्तिबाट नेम्वाङलाई सभामुख बनाउनुपर्ने प्रस्ताव आइरहेको छ भने पूर्वमाओवादी पंक्तिले सापकोटालाई अघि सारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपसभामुखलाई राजीनामाका लागि गरेको आग्रहलाई तुम्बाहाङ्फेले अस्वीकार गर्दै आएकी छन्। तुम्बाहाङ्फेले राजीनामा दिएको अवस्थामा पनि नेकपाभित्र सभामुखको उम्मेदवार चयन गर्न त्यति सहज छैन।

पूर्वएमाले र पूर्वमाओवादीबीच उक्त पदका लागि भइरहेको हानाथापको निकास कसरी निकाल्ने भन्नेमा नेतृत्वमै एकमत छैन। मध्यमार्गी समूह भने नेम्वाङलाई सभामुख बनाएर पूर्वमाओवादीलाई संसदीय दलको उपनेता दिन सकिने गरी सहमतिको खोजीमा रहेको बताइन्छ । नेम्वाङ हाल नेकपा संसदीय दलको उपनेता छन् ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिए के गर्ने भन्ने अन्योल पनि कायमै छ । तुम्बाहाङ्फेले तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूले पाउन नहुने तर्क गर्दै राजीनामाका लागि अस्वीकार गर्दै आएकी छन्।

यसअघि पूर्व एमाले र पूर्व माओवादीबीचको भागवण्डा अनुसार पूर्व माओवादीलाई सभामुख र पूर्व एमालेलाई उपसभामुख पद दिइएको थियो। सो आधारमा सभामुख पद आफूले पाउनु पर्ने पूर्व माओवादी पक्षले दाबी गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *