आप्रवासी कामदारलाई मतदान अधिकार दिने विषयमा निर्वाचन आयोगसँग छलफल

डिसी नेपाल
२ पुष २०७६ १९:५१

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रहेका नेपाली नागरिक तथा आप्रवासी कामदारको मतदानको अधिकारको विषयमा बुधबार निर्वाचन आयोगसँग छलफल गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार र आवधिक निर्वाचन लोकतन्त्रको कडी रहेको अवस्थामा लाखौँ सङ्ख्यामा नेपाली नागरिक वैदेशिक रोजगारीका क्रममा रहेका मतदानको अधिकार संरक्षण गर्ने दायित्व सरकार तथा निर्वाचन आयोगको रहेको बताए।

आप्रवासी कामदारको मतदानको अधिकार मानव अधिकारको विषय भएकाले अन्य देशको अनुभव अध्ययन गरी प्रक्रिया अगाडि बढाउनुपर्ने उनको सुझाव थियो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपालीको मतदानको अधिकारको विषयमा मानव अधिकार आयोगको सिफारिस, सर्वोच्च अदालतको परमादेश र कार्यदलको अध्ययन प्रतिवेदनको सुझावलाई निर्वाचन आयोगले संवेदनशील रुपमा लिएर ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

निर्वाचन ऐन मस्यौदा तयार भइरहेको अवस्थामा आयोगले सरकारलाई सिफारिस तथा उक्त विषयमा बहस चलाएर सहयोग गर्न आग्रह गरे।

राष्ट्रिय मानव अधिकार आयोगले बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा विमानस्थलको अनुगमन गरेको छ । आयोगकासदस्य सुदीप पाठक नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको श्रम, अध्यागमन तथा सुरक्षा जाँचबुझ कक्षको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा वैदेशिक रोजगारमा जाने कामदारसँग वैदेशिक रोजगारीमा जाने क्रममा अपनाइएका प्रक्रिया, आवश्यक कागजात प्राप्त गर्न लागेको समय एवं उनीहरुले भोग्नुपरेका समस्या, कानूनी प्रक्रिया तथा न्यायमा पहुँचका बारेमा सोधपुछ गरी जानकारी लिएको थियो ।

फ्रि भिसा, फ्री टिकटको पूर्ण कार्यान्वयन नभएको, तालीम तथा अभिमुखीकरणको अभावले गन्तव्य मुलुकको स्थानीय भाषा, संस्कृति एवं कानूनको पर्याप्त जानकारी नभएको, कामदारमा दक्षताको अभाव रहेको, कतिपय कामदारसँग करारपत्र नभएको, विशेषगरी महिला कामदारलाई कामका बारेमा जानकारी नभएको र समस्या पर्दा कहाँ कसरी सम्पर्क समन्वय गर्ने भन्ने विषयमा जानकारी नभएको लगायतका तथ्य अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *