म्युजिक भिडियोमा उदाउँदा एडिटर

डिसी नेपाल
३ पुष २०७६ ११:४२

काठमाडौं। पछिल्लो समय गीतको म्युजिक भिडियो एडिटिङमा चम्केको नाम हो, विकास ज्ञवाली (२८)। आधुनिक होस् वा लोकदोहोरी। दुबैखाले गीतको भिडियो एडिटिङमा विकासको ब्यस्तता बढ्दो छ।

कुनै भिडियो खिचेपछि त्यसलाई दर्शकको मन जित्न सक्ने गरी आकर्षक बनाउने काम नै भिडियो एडिटिङ हो। विकास भिडियो एडिटिङसँग सम्बन्धित ग्राफिक डिजाइनिङ, भीएफएक्स र एनिमेसनमा दख्खल राख्छन्। त्यसैले धेरैको नजरमा परेका छन्।

गत तीजमा दुर्गेश थापाको गीत ‘बिच्च बिच्चमा’ खुबै चल्यो। जुन गीतलाई विकासले एडिटिङ गरेका हुन्।  दुर्गेशले गाएको ‘छ माया छपक्कै’चलचित्रको प्रमोशनल गीतमा पनि विकासकै एडिटिङ छ। बाल गायिका कमला घिमिरेको केही समयअघि सार्वजनिक ‘चिया छानेको’ गीत पनि विकासकै एडिटिङमा तयार भएको हो।

५ वर्ष भयो, उनी भिडियो एडिटिङमा लागेको। बसन्त थापा, शिव परियारदेखि सुनिल क्षेत्री, बसन्त सापकोटा, टंक बुढाथोकीसम्मका गीत विकासले एडिटिङ गरेका छन्। भिमफेदी गाइजदेखि ‘कार्टुन क्रु’का थुप्रै गीतको भिडियो विकासको एडिटिङमा बजारमा आईसकेका छन्। हालसम्म २ सय बढी गीतको भिडियो एडिटिङ गरेको विकास बताउँछन्। उनी भन्छन्, –‘राम्रै भइरहेको छ। धेरै अग्रज कलाकारहरुको काम गर्न पाइरहेको छु। महिनामा १५ वटासम्म भिडियोको काम गरिरहेको हुन्छु। कामबाट सन्तुष्ट छु।’

जे सिकेँ, अनलाइनबाटै सिकें
भिडियो एडिटिङसम्बन्धी केही कोर्स पढाइ हुन्छ। तर विकास आफूले कुनै कोर्ष तथा अन्य प्रशिक्षण नलिएको बताउँछन। भन्छन् –‘जे सिकेँ, अनलाइनबाटै सिकें।’

बुटवलमा जन्मिए। त्यही हुर्किए। पढाइमा सानैदेखि तेज थिए। अझ कम्युटरमा साह्रै रुचि लाग्ने। कक्षा ९/१० पढदा कम्युटर विषयमा ९८/९९ सम्म नम्बर आउँथ्यो। साथी तथा शिक्षकहरु पनि चकित पर्थे। कम्युटरमा रुचि भएकाले अनलाईनबाट नयाँ–नयाँ कुराहरु सिकिरहन्थे। त्यही नयाँ कुरा सिक्ने चाहनाले नै आफू भिडियो सम्पादनसम्म आइपुगेको विकास बताउँछन्।

ईञ्जिनियर बन्ने रुचि थियो। त्यसैले ईलेक्ट्रोनिक एण्ड कम्युकेशन ईन्जिनियरिङ पढे। कम्युटरमा रुचि र लगाव भएका कारण ईन्टरनेटमार्फत ग्राफिक्स डिजाइन सिके। थ्रिडी, एनिमेशन पनि सिके। पढ्दै गर्दा आफ्नै कलेजको भवनको थ्रिडी डिजाइन समेत बनाए। त्यत्तिकैमा बुटवलमै हुँदा भिडियो एडिटिङको अवसर आयो। शुरुमा पप गीत एडिटिङ गरे। त्यसयता अन्य गीत एडिटिङको अवसर आयो। लगातार गरे। केही समयपछि भिडियो एडिटिङमै केही गर्छु भन्ने सोँचेर काठमाडौं आए। यहाँ शुरुवाती दिनमा गाह्रो भयो।  ‘सुरुवाती दिन निकै गाह्रो थियो। काम नै आउँदैनथ्यो। आएका कामहरु राम्रो गर्दै गएँ अनि क्रमश काम बढ्दै गयो’– उनी सफलता सुनाउँछन्।

पुरानाभन्दा नयाँबाट धोका
अहिले त उनलाई कामको अभाव छैन। निरन्तर भिडियोहरु एडिटिङको काम आइरहेको छ। अहिलेको अवस्थाबाट खुसी पनि छन्। तर, भिडियो एडिटिङ साह्रै गाह्रो काम भएको विकासले बुझेका छन्।

सुनाउँछन्, –‘भनेको समयमा काम सक्नुपर्छ। एकपटक समयमै सकेन भने रिलेशन नै ब्रेक हुने सम्भावना रहन्छ। अर्को पटक त्यो कलाकारले एडिटिङको लागि अर्कैकोमा लैजान्छ।’
उनले कति गीत एडिटिङको काम भनेको समयमा नसकेर कलाकारहरु टाढिएका छन्। त्यसैले अहिले रातदिन खटेर भएपनि आफ्नो कामबाट कलाकारहरुलाई निराश बनाउँदैनन्।

कमाई पनि राम्रै छ। एउटा भिडियोबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको विकास बताउँछन्। यो क्षेत्रमा काम गराएर पैसा नदिनेको पनि कमी छैन्। उनको पनि २ लाख रुपैयाँ बढी फसेको छ। ‘पुराना भन्दा नयाँ कलाकारहरुबाट बढी धोका हुन्छ। कोहीले पछि दिन्छु भन्ने, कोहीले घटाउने गर्छन्’ –उनी अनुभव सुनाउँछन्। सुनील क्षेत्री, दुर्गेश थापा, वसन्त थापा, कार्टुन क्रु, शिव परियार, भिमफेदी गाईज, वसन्त सापकोटा लगायतले भने समयमै पारिश्रमिक दिने गरेको विकास सुनाउँछन्।

अहिले पनि विकास अनलाइन ईन्टरनेटबाटै नयाँ–नयाँ कुराहरु सिकिरहेका हुन्छन्। कसरी नयाँ र राम्रो ग्राफिक्स, भीएफएक्स, कलरिङ गर्ने? उनी ईन्टरनेटमा हेर्छन्।

भर्खरै उनले पहिलोपटक अवार्ड पाएका छन्। राप्ती म्युजिक अवार्डमा ‘कार्टुन क्रु’को ‘बसबस रे’बाट ‘वेष्ट भिडियो एडिटर’को अवार्ड पाएँ। यसले आफूमा थप जिम्मेवारी बढेको विकास बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *