भारतसँगको सीमा विवादमा सरकारी रवैया खोक्रो राष्ट्रवाद : प्रदीप पौडेल

डिसी नेपाल
३ पुष २०७६ ११:५५

नयाँ दिल्ली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भारतसँगको सीमा विवाद समाधानका लागि वर्तमान सरकारले केही गर्न नसकेको आरोप लगाएका छन्।

भारतको नयाँ दिल्लीमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सीमा विवादमा सरकारी रवैयालाई खोक्रो राष्ट्रवादको संज्ञा दिए। “सीमा विवाद समाधान गर्न सरकारले केही गर्न नसकेको अवस्थामा अब स्थानीय जनसम्पर्क समितिले नै समस्या हल गर्न ठोस पहल गर्नुपर्छ ” पौडेलले भने।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको भन्दै पौडेलले सार्वभौममुलुक नेपालको स्वतन्त्र अस्तित्व स्विकार गर्नुको विकल्प भारतसँग नरहेको बताए। भारत नेपालको नजिकको छिमेकी भएपनि दुई देशबीच धेरै गुनासा र समस्या रहेको बताउँदै पौडेलले कुटनीतिक ढंगले समस्या समाधान गर्नुपर्ने बताए।

बेग्लै प्रसंगमा पौडेलले भारत सहित विदेशमा रहेका सबै नेपालीले नेपालको निर्वाचनमा मत हाल्न पाउनु पर्ने विचार व्यक्त गरे । सो अवसरमा विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका दर्जनौंलाई पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेताहरु ओमकारप्रसाद श्रेष्ठ, शिवराज जोशी, गोविन्दबहादुर शाह, पूर्व सांसदहरु सुशीला शर्मा, होमराज दाहाल, नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला लगायतको समेत उपस्थिति रहेको थियो । नेता पौडेल नेपाली जनसम्पर्क समिति इजरायलले गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भई भारत आएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *