वैदेशिक रोजगारीलाई मर्यादित बनाउन एनआरएनसँग सहकार्य गर्न सरकार तयार: श्रममन्त्री यादव

डिसी नेपाल
३ पुष २०७६ १३:०७

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँग भेटवार्ता गरेको छ।

भेटमा वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल भएको थियो।

संघका केन्द्रीय उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसी लगायतका पदाधिकारीहरुको टोलीले बुधवार नवनियुक्त मन्त्री यादबलाई भेटेर हार्दिक बधाई तथा शुभकामना दिएका थिए।

भेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका समस्या समाधानमा साझेदारी गर्ने विषयमा भएको छलफलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकार एनआरएनएसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका थिए ।

छलफलमा संघका केन्द्रीय उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका सभापति डा केसीले वैदेशिक रोजगारका क्षेत्रसँग सम्बन्धित संघका प्रमुख उद्देश्यहरु, संघद्वारा नेपाल सरकारसँग गरिएका पहलहरु, संघको श्रमीक राहत कोष, हाल सम्म संघले हासिल गरेका उपलब्धी र भविष्यमा नेपाल सरकारले गर्नु पर्ने कार्यहरुबारे पनि जानकारी गराएका थिए।

डा. केसीले संघले वैदेशिक रोजगार राहत कोष खडा गरी रकम संकलन गरिरहेको तर उक्त कोषमा रकम न्यून भएकोले विप्रेषण सेवा प्रदायकले पाउने सेवा शुल्कको निश्चित हिस्सा उक्त कोषमा जाने व्यवस्था गर्न उपयुक्त हुने पनि सुझाव दिएका थिए। उनले सरकार र संघबीचको सहकार्यलाई गति दिन एक संयुक्त कार्यदल गठन गर्न पनि मन्त्री यादवलाई आग्रह गरे।

मन्त्री यादवले वैदेशिक रोजगारीमा गएका कामदारहरूको हकहितका र अप्ठ्यारोमा परेका नेपालीहरूको राहत र उद्धारमा संघले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि निरन्तर सामाजिक कार्यक्रममा अग्रसर हुन आग्रह गरेका थिए। त्यस्तै उनले वैदेशीक रोजगारीको क्षेत्रलाई अझ बढी व्यवस्थित तथा मर्यादित बनाउनका लागि नेपाल सरकार एनआरएनएसँग अझ नजिक भएर सहकार्य र समन्वय गर्न तयार रहेको बताए।

उक्त भेटमा संघको टोलीले प्राकृतिक कारणले विदेशमा मृत्यु भएका नेपाली कामदारहरूको लागि बिमाको व्यवस्था हुनुपर्ने, वैदेशिक रोजगारीका क्रममा हुने गरेको मृत्युदरलाई घटाउन थप जनचेतनाका कार्यक्रमहरू र श्रव्यदृश्य सहितको प्रभावकारी अनुशिक्षणको व्यवस्था गर्नुपर्ने तथा कानूनी प्रतिरक्षाका लागि कूटनैतिक नियोगले निशुल्क र निरन्तर कानूनी सेवा उपलब्ध गराउनु पर्ने लगायतका सुझाव मन्त्री यादवलाई दिएको थियो।

भेटमा सहभागी संघका पदाधिकारीहरुले सरकारले राम्रोसँग अध्ययन तथा अनुसन्धान नगरेरै बेलाबेलामा नीति नियम परिवर्तन गर्ने गरेको र त्यो परिवर्तित नीति श्रमिकका लागि प्रभावकारी नहुने उल्लेख गर्दै अब उप्रान्त वैदेशिक रोजगारी सम्बन्धी नीति नियम निर्माण गर्दा एनआरएनसँग पनि छलफल गर्न माग गरेका थिए।

संघले राखेका सुझावहरु आफूले अध्ययन गर्ने बताउँदै हाल देखापरेका समस्याहरुलाई समाधान गर्नको लागि पहल गरिने मन्त्री यादवले प्रतिबद्धतासमेत जनाएका थिए।

भेटघाट कार्यक्रममा संघका उपाध्यक्षहरु डा बद्री केसी, अर्जुन श्रेष्ठ र सोनाम लामा, सल्लाहकार रामेश्वर शाह, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, आइसिसि सदस्य विश्वविक्रम राई, ओसेनिया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक धर्मराज अधिकारी, पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन एकेडेमीका संयोजक डा। प्रमोद ढकाल लगायतको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *