एमसीसी र ईण्डो प्यासिफिक रणनीति एउटै हो भन्नेहरु कि धेरे बुझेका हुनुपर्छ कि केही नबुझेका: मन्त्री बास्कोटा
काठमाडौं । सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धि सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले हिउँदे अधिवेशनबाट एमसीसी पारित हुने बताएका हुन् । सञ्चारमन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले जुनसुकै हालतमा पनि यो पारित हुने बताए । ‘फोबियाहरुद्वारा हामी चल्न चाहादैनौँ । पो पास हुन्छ’, उनले भने ।
पार्टीभित्र नै एमसीसीको विरोध भइरहेको सन्दर्भमा बास्कोटाले यसको विषयमा धेरै बुझेका र केही नबुझेकाहरुले विरोध गरिरहेको बताए । ‘‘एमसीसी र ईण्डो प्यासिफिक रणनीति एउटै हो भन्नेहरु कि धेरे बुझेको हुनुपर्छ कि केही नबुझेको । अंग्रेजी नि जान्या छ, स्पेनिस नि जान्या छ, हिन्दी नि जान्या छ, चाईनिज पनि जान्या छ, भने यति धेरै जान्नेले नै जान्दछ । मलाई जहाँसम्म लाग्छ एमसीसी आउँदा ईण्डो प्यासिफिक भन्ने शब्दावली नै आएको थिएन।’’
नेकपाको विदेश विभागले समेत यसको विरोध नगरेको भन्दै बास्कोटाले दलको बैठकमा कुरा आउँदैमा केही फरक नपर्ने बताए । ‘दलको बैठकमा अनेकौँ कुराहरु उठ्छन् नि, उठेका सबै कुरा कहाँ पास हुन्छन् ; कहाँ सदर हुन्छन् । हुँदैनन् नि’, बास्कोटाले भने ।
बास्कोटाले एनसेललाई फ्रिक्वेन्सी दिइएको सन्दर्भमा सबै पारदर्शीरुपमा भएको बताएका छन्। इतिहासमै पहिलोपटक बोलकबोल प्रकृयाबाट वितरण गरिएको उनको दावी थियो । ‘‘लिलामीमा भाग लिन मापदण्ड बनेका थिए । मापदण्ड पुगेका कम्पनीहरुले भाग लिए । जसको लाइसेन्स नै छैन, जुन कम्पनी टाट पल्टेको छ त्यसलाई दिएन भनेर हुन्छ’, उनले भने, ‘९ मेगाहर्ज लिलामी भएको छ । यसबाट ४५ करोड सरकारलाई आउँछ । टेलिकमले त्यही रेञ्जमा प्रयोग गर्छ । हावाबाट नै ९० करोड रुपैयाँ आउँछ ।’’
बास्कोटाले राष्ट्रिय जनता पार्टीसँग भएको चुनावी गठबन्धन स्वभाविक भएको बताए । राजनीतिको कुनै सीमा नहुने भन्दै बास्कोटाले आफनो पार्टीले कुनै पनि दललाई विपक्षी बनाउन नचाहेको बताए । राजपाले पनि सुरुमा सरकारलाई समर्थन गरेको स्मरण गर्दै उनले बीचमा केही खाल्डाखुल्डी परेर मन भाँचिएको बताए । ‘‘सरकारमा आउनुभयो भने वेलकम छ । एक, दुईजना मन्त्री फिर्ता बोलाउनुपरे पनि बोलाउँछौँ । भागवण्डाको कुरा भएन् नेकपा उदार छ । सरकारबाट कोही पनि बाहिरिनु पर्दैन’’ उनले भने ।
प्रवक्ता बास्कोटाले नेपाल भारत सीमा क्षेत्रमा बिओपी थप्न कुनै कुराले पनि समस्या नगर्ने बताए । आफ्नो देशको आन्तरिक सुरक्षालाई व्यवस्थित गर्न बिओपी थपिन लागेको बताए । सीमा समस्या समाधानका लागि सरकारले काम गररहेको बताउँदै बास्कोटाले उत्तेजनात्मक हिसाबले समस्या नहुने तर कानमा तेल हालेर नबसेको बताए । १ सय १४ वटा बिओपी थपेर भारतलाई युद्धको निम्तो नदिएको भन्दै बास्कोटाले देशको आन्तरिक सुरक्षाका लागि यो गरिन लागेको बताए ।
गोकर्ण रिसोर्टसँग थप गरिएको सम्झौतामा पहिलेको भन्दा बढी पैसा तिर्नुपर्ने गरिएको उनले बताएका छन् । ‘‘कसैले सञ्चालन गरिरहेको थियो, भिजिट नेपाल चल्दैछ, उसको संरचना छ, उसको लगानी छ । त्यसको हिसाबकिताबमा म जान्न पहिले जति दिएको थियो अब त्यसले त्योभन्दा बढी तिर्नुपर्छ ।’’
प्रतिक्रिया
Facebook Comment