नेपालगञ्ज उपमहानगरपालिकाकाे ‘वाटरपार्क’ परियोजना अघि बढ्ने

डिसी नेपाल
३ पुष २०७६ १९:५९

बाँके। नेपालगञ्ज नगर विकास समितिले यहाँको वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका नगर समितिका अध्यक्ष डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको समितिको बैठकले परियोजनाअन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

वाटरपार्कको जग्गा बिक्री वितरणका लागि मूल्य निर्धारण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको संयोजकत्वमा मूल्य निर्धारण समिति गठन गरेको छ । नगर विकास समितिले वाटरपार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाणपुर्जा तयार गरिसकेको छ । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको डिपिआरअनुसार घर संरचना निर्माण गर्नुपर्ने जनाइएको छ ।

नगरपालिकाको यो निर्णयपछि लामो समयको पर्खाइमा रहेको यहाँको बहुप्रतिक्षित ठूलो परियोजनाभित्रको वाटरपार्क निर्माणको काम अब धमाधम हुने नगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए। वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौकाबिहार र पौडी पोखरीका रूपमा विस्तार गरिनेछ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, बालउद्यान, व्यापारी प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण हुने प्रवक्ता रिजालले बताए ।

नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि छ मिटरसम्मको पक्की सडक निर्माण गरिनेछ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ ।

नेपालगञ्ज वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिने विश्वास गरिएको छ । “यो परियोजनाको अनुमानित लागत ७० करोड बढी हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा राणाले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *