‘दिदीबाट अब आमा भएँ’, मिथिला शर्मा भन्छिन्, – ‘आमा फिल्म छाड्नु सूर्यमालाजीको ब्याडलक’

डिसी नेपाल
४ पुष २०७६ ११:५१

काठमाडौं। नेपालमा बनेको पहिलो नेपाली चलचित्र हो, आमा। यो चलचित्र वि.सं.२०२० सालमा बनेको थियो। यही चलचित्रको नाम सापटी लिएर २०५१ सालमा पुनः चलचित्र ‘आमा’को निर्माण भयो। अहिले ‘आमा’नाममा तेस्रोपटक चलचित्र निर्माण भएको छ।

‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरियो। ‘आमा र छोरी’बीचको सम्बन्धलाई देखाउने चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त शीर्ष भूमिकामा छन्। ट्रेलर रिलिज कार्यक्रममा बोल्दै मिथिला शर्माले ‘आमा’ आफ्नो कलाकारिताको अर्को एउटा टर्निङ प्वाइन्ट भएको बताइन्।

उनले भनिन् –‘मानिसको जीवनमा एउटा–एउटा टर्निङ प्वाइन्ट, घुम्ती आउँछ। यो मेरो जीवनको अर्को एउटा टर्निङ प्वाइन्ट नै हो, दिदीबाट आमामा जाने।’ मिथिलाले ‘आमा’ चलचित्रले आफ्नो उपनाम परिवर्तन गरिदिएको बताइन्। अगाडि भनिन् –‘हुनत म धेरै चलचित्रमा आमा बनेर खेलेकी छु। तर चलचित्र ‘दिदी’बाट म धेरैको दिदी बनेकी थिए। आजसम्म आमा बनेर धेरै चलचित्र खेलेपनि मलाई सम्बोधन गर्ने शब्द दिदी नै थियो। दिदीपछि मेरो उपनाम परिवर्तन गराएको छ आमाले।’

मिथिलाले २०५० सालमा प्रदर्शनमा आएको चलचित्र ‘दिदी’मा दिदी पात्रमा अभिनय गरेकी थिइन्। उनले ‘आमा’मा अभिनय गर्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य रहेको प्रतिक्रिया दिइन्।

हुनत शुरुमा ‘आमा’मा यो भूमिकाको लागि सूर्यमाला खनाल अनुबन्धित भएपनि घरायसी कामले चलचित्र छोडनुपरेको थियो। ट्रेलर रिलिज कार्यक्रममा मिथिलाले सूर्यमालाले चलचित्रमा काम नगर्नु उनको ब्याडलक भएको बताइन्।

‘चलचित्रमा काम गर्न नपाउनु सूर्यमालाजीको ब्याडलक हो। उहाँ एउटा राम्रो कलाकार त्यसमा पनि यति राम्रो मौका पाउनु भएको थियो’ मिथिलाले भनिन् ‘तर, उहाँ हजुरआमा बन्नुपर्ने भएर ‘आमा’ मेरो पोल्टामा पर्यो।’

चलचित्रको लागि सुरक्षा पन्तले आफ्नो कपाल नै मुण्डन गरेकी थिइन्। ट्रेलर रिलिज कार्यक्रममा त्यो क्षण सम्झँदा सुरक्षा भावुक भइन्। उनले आमामा काम गर्दा आफूले चरम आनन्द महशुस गरेको बताइन्। उनले भनिन्, ‘एउटा कलाकार आफूलाई बिर्सेर क्यारेक्टर नै बन्न सक्छ भन्ने अनुभव यसबाट पाएँ।’

निर्देशक दीपेन्द्र के. खनालले ‘आमा’ एउटा राम्रो चलचित्र बनेको बताए। उनले चलचित्रमा हरेक कलाकारले मनदेखि काम गरेको बताउँदै भने, ‘सबै कलाकारले मनदेखि काम गर्नुभएको छ। ग्रिसिरिन कही प्रयोग भएको छैन। सबैजना पात्रमा बसेर त्यसभित्र डुब्नुभएको छ। त्यसका लागि सबैलाई धन्यवाद दिन चाहान्छु।’

निर्मात्री शर्मिला पाण्डेले ‘आमा’जस्तो चलचित्र निर्माण गर्न पाउँदा गर्व महशुस गरेको बताईन्। चलचित्रमा मिथिला, सुरक्षासँगै सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुसाल, देशभक्त खनाल, आशान्त शर्मा, पदमप्रसाद पौडेललगायतको अभिनय छ। चलचित्र महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेदेखि देशभर रिलिज हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *