सामाखुसीबाट दिनदहाडै स्कुल जान लागेका ३ बालबालिका अपहरण, ३ लाख फिरौती माग
काठमाडौं। स्कुल जान लागेको बेला ‘मम्मीले बोलाउनुभएको छ’ भन्दै साथमा लिएर गइ बन्धक बनाइएका तीन बजना बालबालिकालाई प्रहरीले मुक्त गराएको छ । प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । १ जना फरार रहेको र उनको खोजी भइरहेको जनाएको छ । अपहरणकारीले यी ३ जना बालबालिकालाई अपहरण गरी ३ लाख रुपैयाँ फिरौती मागेका थिए ।
जानकारीअनुसार ती तीन बालबालिकाकी आमा काम विशेषले पोखरा जानुपरेको थियो । उनले तीन जना बच्चाहरुलाई सामाखुसीमा आफन्तको कोठामा छाडेर गएकी थिइन् । प्रहरीका अनुसार मंसिर ३० गते ती तीनैजना बालबालिका स्कुल जाँदै थिए । त्यही बेला कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले तिमिहरूलाई होटलमा लगी राख्नु भन्नुभएको छ’ भन्दै लगेका थिए ।
सिजापतिले उनीहरुलाई टोखा नगरपालिका ९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएका राखेका थिए । उनले मंगलबार बालककी आमालाई बच्चाहरूकै नम्बरबाट पोखरा फोन गरी ३ लाख रुपैयाँ फिरौती माग गरेका थिए । पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सिजापतिको खोजी जारी छ ।
Facebook Comment