पीपीएलः धनगढीलाई ५२ रनले हराउँदै चितवन प्लेअफमा
पोखरा । शुक्रबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको चितवनले पुरा ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ८२ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको धनगढीले २० ओभर पुरा खेलेर ८ विकेटको क्ष्तिमा १ सय १९ रन मात्रै बनाउँदा चितवनले जितेको हो । लगातार तीन खेल जितेको चितवन ६ अंकसहित प्लेअफमा प्रवेश गरेको छ ।
चितवनका लागि ओपनर रोहन मुस्तफाले १६ बलमा ९ रन बनाएर दिपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लु भएका थिए । त्यस्तै अर्का ओपनर कप्तान पारस खड्का १५ बलमा २३ रन बनाउँदै अनिल खरेलको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङमा आएका बाबर हायात २८ बलमा ३ चौका र २ छक्काको मद्दतले ३६ रन बनाउँदा अमित यादवको बलमा दिपेन्द्र सिंह ऐरीकै हातबाट क्याच आउट भए ।
खेलको चौंथो नम्बरमा ब्याटिङ गर्न आएका हरिशंकर साश ५ बलमा ८ रन बनाउँदै अनिल खरेलको बलमा अमित यादवको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर अनिल साह २० बलमा १९ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीको बलमा अमित यादवको हातबाट विकेट गुमाउन पुगे ।
त्यस्तै आरिफले शेखले उत्कृष्ट ब्याटिङ गर्दै अविजित २० बलमा २ चौका र ४ छक्काको मद्दतले ४७ रन बनाए भने सन्नी पटेलले पनि अविजित १७ बलमा १ चौका ३ छक्काको मद्दतले ३२ रन जोडे ।
धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १८ रन दिँदै २ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ४ ओभरमा ४१ रन २ विकेट, अमित यादव ४ ओभरमा २७ रन १ विकेट लिएका छन् ।
त्यस्तै धनगढीका लागि ओपनर रोड्रिगो थोमसले २० बलमा २४ रन बनाउँदै सन्नी पटेलको बलमा बोल्ड भएका थिए । अर्का ओपनर शुभेन्दु पाण्डे शुन्य रनमा रन आउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङमा आएका श्रिमन्था विजयरत्ने पनि शुन्य रनमै करन केसीको एलबीडब्लु धरापमा परे । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान दिपेन्द्र सिंह ऐरीले इनिङलाई माथि उकास्ने क्रममा ४२ बलमा ४९ रनको महत्वपूर्र्ण योगदान गरे । उनी भुवन कार्कीको बलमा बाबर हायातको हातबाट क्याच आउट भएर अर्धशतक बनाउनबाट १ रनले मात्रै चुकेका थिए ।
अर्का ब्याट्सम्यान सन्दीप रजाली शुन्य रनमै शन्नी पटेलको बलमा बोल्ड भएका थिए । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोरा २१ बलमा २१ रन बनाउँदै भुवन कार्कीकै बलमा कार्कीकै हातबाट क्याच आउट भएका थिए । त्यस्तै सौरभ खनाल ३ रन बनाउँदा भुवन कार्कीकै बलमा बोल्ड हुँदै पेभेलियन फर्केका थिए । ९ औँ नम्बरमा ब्याटिङ गर्न आएका कमल सिंह ऐरी ९ रन बनाउँदा करन केसीको बलमा सन्नी पटेलको हातबाट क्याच आउट भए । त्यस्तै अमित यादव र सागर ढकालले अविजित क्रमशः १७ र १ रन बनाए ।
त्यस्तै चितवनका लागि भुवन कार्कीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिए भने करन केसी ४ ओभरमा २४ रन २ विकेट, सन्नीले ४ ओभरमा २५ रन दिँदै २ विकेट लिए ।
Facebook Comment