नेकपामा उपसभामुख तुम्बाहाम्फेको राजीनामा गराउन प्रस्ताव

डिसी नेपाल
४ पुष २०७६ १९:४०

काठमाडौं। नयाँ सभामुखबारे टुंगो नलाग्दै नेकपामा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने प्रस्ताव नेकपामा औपचारिक रुपमा प्रवेश भएको छ। नेकपा संसदीय दलको बैठकमा शुक्रबार उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने प्रस्ताव प्रवेश गराइएको हो।

नेकपा संसदीय दलका उप नेता सुवास नेम्वाङले बैठकमा सो राजीनामा सम्बन्धि प्रस्ताव पेश गरेको एक नेकपा सांसदले जानकारी दिए। उनका अनुसार बैठकमा नेम्वाङले उपसभामुख तुम्बाहाम्फले राजीनामा गर्नुपर्ने र नयाँ प्रक्रियाअनुसार सभामुख र उपसभामुख चयन गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेम्वाङले सभामुख र उपसभामुख फरक लिंग तथा फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताएका थिए।

यही पुस ११ गतेदेखि सभामुख चयनको प्रक्रिया शुरु गर्ने प्रतिनिधिसभाले यसअघि नै निर्णय गरिसकेको छ। सभामुख चयन प्रक्रिया शुरु गर्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने अवस्था आउने नेकपा नेताहरुले बताएका छन्। सभामुखका लागि निर्वाचन र उम्मेदवारी मनोनयनको मिति तोकिएसँगै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने नेकपा नेताहरुले बताएका छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार काण्डमा मुछिएपछि गएको असोज १३ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको सभामुख पदमा सत्तारुढ दल नेकपाबाटै चयन गर्ने तयारी सत्तारुढ दलको छ। नेकपामा भावी सभामुखबारे निर्णय भने इसकेको छैन। सुवास नेम्वाङ, तुम्बाहाम्फे र अग्नि सापकोटाको नाम नेकपा भित्र चर्चामा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *