लाफा ब्याडमिन्टन आजदेखि बुटवलमा शुरु

डिसी नेपाल
५ पुष २०७६ २२:०४

रुपन्देही । लाफा समूहको आयोजनामा प्रदेश नं ५ मै ठूलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता आजदेखि बुटवलमा शुरु भएको छ ।

दोस्रो खुला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खेलकूदको पूर्वाधार विकासमा प्रदेश सरकार लागिपरेको बताए ।

स्थानीय तहबाट जग्गा प्राप्त गर्नसके आवश्यक खेल पूर्वाधारका लागि प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गर्दैै उनले खेलकूदबाटै राष्ट्रको पहिचान हुनसक्ने हुँदा प्रदेश सरकारले अन्तरराष्ट्रियस्तरका खेल पूर्वाधारमा जोड दिएको बताए ।

कार्यक्रममा ओलम्पिक सदस्य कुमार केसी, जिल्ला भलिबल सङ्घ रुपन्देहीका अध्यक्ष योग गुरुङ, नगर खेलकूद विकास समितिका संयोजक नन्दु काउचा लगायतले प्रदेश सरकारले खेल क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा खुलातर्फ ८० र भेट्रानतर्फ ३२ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा खुलातर्फ उपाधि विजेता समूहले ५१ हजार १११, दोस्रोले ४१ हजार १११ तथा तेस्रो समूहले ३१ हजार १११ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी भेट्रान्सतर्फ उपाधि विजेता समूहले २१ हजार १११, दोस्रोले १५ हजार १११ तथा तेस्रोले १० हजार १११ नगदसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरिने क्लबका अध्यक्ष तारासिंह रेश्मीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *