युभेन्टसलाई पछि पार्दै इन्टर फेरि शीर्ष स्थानमा फर्कियो
एजेन्सी । बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोलसँगै इन्टर मिलानले युभेन्टसलाई पछि पार्दै इटालियन सिरी ‘ए’को शीर्षस्थानमा उक्लिएको छ । इन्टर मिलानले घरेलु मैदानमा भएको खेलमा जिनोआलाई ४–० ले पराजित गर्दै सिरी ‘ए’ को शीर्षस्थानमा फर्किएको हो ।
समान १७ खेलबाट ४२ अंक रहेपनि इन्टरले गोल अन्तरमा युभेन्टसलाई पछि पारेको हो । इन्टर मिलानको जितमा लुकाकुको दुई गोलसँगै रोबर्टाे गाग्लीयरडिनी र सेवास्टियानोले समान १ गोल गरे । खेलको ३१औं मिनेटमा लुकाकुको गोलबाट इन्टरले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि रोबर्टाेले गोल गर्दै अग्रता दोब्बर पारे ।
६४औं मिनेटमा सेवास्टियानोले अर्काे गोल थपे । ७१औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै इन्टरलाई ४–० को फराकिलो जित दिलाए । यो हारपछि जिनोआ १७ खेलमा ११ अंकसहित तालिकाको अन्तिममा छ ।
Facebook Comment